ललितपुर। साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको कृषि विभागको तथ्याङ्कले देखाएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार देशभर धानखेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर (८५.७२ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ। अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै रोपाइँ हुन बाँकी रहेको प्रदेश मधेस हो। कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर धानखेती हुने क्षेत्रमा हालसम्म ३ लाख ५ सय ८० हेक्टर  ७७.८८ प्रतिशत मा मात्र रोपाइँ भएको छ। त्यहाँ अझै २२.१२ प्रतिशत अर्थात् करिब ८५ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको छ।

मधेसपछि गण्डकी प्रदेशमा १९.२८ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ। गण्डकीमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७५ हजार ५ सय ६२ हेक्टर ८०.७२ प्रतिशत मा रोपाइँ सम्पन्न भएको छ।

कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये २ लाख ४० हजार ३ सय ७७ हेक्टर ८६.९७ प्रतिशत मा रोपाइँ सकिँदा १३.०३ प्रतिशत क्षेत्रफल बाँकी रहेको छ। बागमती प्रदेशमा ८७.०९ प्रतिशत रोपाइँ सम्पन्न भई १२.९१ प्रतिशत क्षेत्रफलमा अझै रोपाइँ हुन बाँकी छ।

यस्तै, लुम्बिनी प्रदेशमा ८८.९९ प्रतिशत र कर्णाली प्रदेशमा ८८.२२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। लुम्बिनीमा ११.०१ प्रतिशत तथा कर्णालीमा ११.७८ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ। कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टरमध्ये १ लाख ५१ हजार ७ सय ४२ हेक्टर अर्थात् ९७.९३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। त्यहाँ अब २.०७ प्रतिशत क्षेत्रफलमा मात्र धान रोप्न बाँकी रहेको छ, जुन देशकै सबैभन्दा कम हो।

विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष साउन ११ गतेसम्म देशभर ७८.८४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिमा यो दर बढेर ८५.७२ प्रतिशत पुगेको छ।