ललितपुर। देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष सोही अवधिमा ६० प्रतिशत रोपाइँ भए पनि यस वर्ष ५० प्रतिशत मात्र सम्पन्न भएको हो।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ। कोसीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ।

देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ। बाढीपहिरो वा अन्य प्राकृतिक विपद् नआए रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ।