ललितपुर। नेपालको कृषि क्षेत्रलाई आधुनिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित “अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३“ आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।
“कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि“ भन्ने मूल नारासहित आयोजना हुने प्रदर्शनी नेपाल सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को संयुक्त आयोजनामा हुन लागेको हो।
प्रदर्शनीमा करिब १० देशका कम्पनीहरूको सहभागिता रहनेछ भने १०० भन्दा बढी प्रदर्शनीकर्ता, २०० भन्दा बढी स्टल तथा २ हजारभन्दा बढी प्रकारका आधुनिक कृषि यन्त्र, उपकरण र प्रविधि एकै स्थानमा प्रदर्शन गरिनेछ।
प्रदर्शनीमा आधुनिक कृषि यन्त्रदेखि पशुपन्छीपालन, मत्स्यपालन, व्यावसायिक तरकारी खेती, पुष्प खेती, सिँचाइ प्रणाली, पोस्ट–हार्भेष्ट व्यवस्थापन, कृषि प्रशोधन, कोल्ड स्टोर, कृषि बजारीकरण तथा गुणस्तरीय बीउबिजनसँग सम्बन्धित नवीनतम प्रविधि अवलोकन गर्न पाइनेछ। यसले कृषक, कृषि उद्यमी, सहकारी, व्यवसायी, अनुसन्धानकर्ता तथा नीति निर्मातालाई कृषि क्षेत्रमा विकसित नवीनतम प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार प्रदर्शनीले नेपालको कृषि क्षेत्रमा यान्त्रीकरण विस्तार, उत्पादन लागत घटाउने, उत्पादन वृद्धि गर्ने, श्रम अभावको समाधान खोज्ने तथा कृषि उद्यमशीलता र निजी लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। साथै कृषि यन्त्र उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, कृषि विज्ञ र कृषकबीच व्यावसायिक साझेदारी तथा अनुभव आदानप्रदानका लागि प्रर्दशनी उत्कृष्ठ प्लेटर्फम बन्ने आयोजकले जनाएको छ ।
नेपालमा यसअघि पाँच राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी तथा एक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती प्रदर्शनीबाट प्राप्त अनुभवलाई आधार बनाएर यसपटकको अन्तर्राष्ट्रिय संस्करण अझ व्यापक र प्रभावकारी बनाउन लागिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कृषि यन्त्र तथा उपकरण उत्पादक, आयातकर्ता, डिलर, सरकारी तथा गैरसरकारी संस्था, शैक्षिक तथा अनुसन्धान संस्था, कृषक समूह, सहकारी, बैंक तथा वित्तीय संस्था लगायत कृषि क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। कृषक, विद्यार्थी, शिक्षक, कृषि उद्यमी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ।
स्टल बुकिङ आगामी श्रावण १ गतेदेखि खुला हुने जानकारी दिँदै कृषि क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला, व्यवसायी र आम नागरिकलाई प्रदर्शनीमा सहभागी भई आधुनिक कृषि प्रविधिको अवलोकन गर्न (नामिया)ले आग्रह गरेको छ ।









