ललितपुर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवापुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिएकी हुन् ।
उनले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन् ।
‘युवा पुस्ताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ । मन्त्रालयअन्तर्गतका सबै निकायले यसै महिनाभित्र कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नशिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेस गर्नुपर्छ,’ उनले भनिन् ।
मन्त्री चौधरीले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।
छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका इन्टर्नशिप र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए ।
विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नशिपमा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण कतिपय अवस्थामा सेवा–सुविधा उपलब्ध गराउन कठिनाइ रहेको उनीहरूको भनाइ थियो । त्यसको जवाफमा मन्त्री चौधरीले आवश्यक कानुनी संशोधनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताउँदै अहिलेका लागि मन्त्रालयअन्तर्गतका सबै कार्यालयबाट तत्काल कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप तथा स्वयंसेवामा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत तथ्यांक तत्काल पेस गर्न निर्देशन दिइन् ।
मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका नेपाली युवाका लागि साझा मञ्च निर्माण गर्ने तयारीसमेत अघि बढाइएको जानकारी दिइन् ।









