ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न कार्यालयमा खटिने नवनियुक्त वैज्ञानिकहरूका लागि खुमलटारमा अभिमुखीकरण तालिम सुरु गरेको छ। असार २४ गतेदेखि सुरु भएको तालिम असार ३० गतेसम्म सञ्चालन हुनेछ।

तालिमको उद्घाटन गर्दै कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि रूपान्तरणको मुख्य आधार कृषि अनुसन्धान भएको बताउँदै नयाँ वैज्ञानिकहरूले किसानका समस्या समाधान गर्ने जिम्मेवारीसहित अनुसन्धानमा सक्रिय हुनुपर्ने बताइन् ।

उनले खाद्य सुरक्षाको आधार पनि कृषि अनुसन्धान भएकाले यसको उपलब्धि किसानको जीवनस्तरमा प्रत्यक्ष सुधार आएपछि मात्र अर्थपूर्ण हुने उल्लेख गरिन् ।

मन्त्री चौधरीले कृषि शिक्षा, अनुसन्धान र प्रसारबीच प्रभावकारी समन्वयका लागि मन्त्रालयले नयाँ संयन्त्र निर्माण, नार्कको पुनर्संरचना तथा ऐन संशोधनको तयारी गरिरहेको जानकारी दिइन् ।

नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले नवप्रवेशी अनुसन्धानकर्तालाई परिषद्को कार्यप्रणाली, अनुसन्धान पद्धति र जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

उनका अनुसार वैज्ञानिकहरूलाई कार्यालयगत अनुसन्धान टोली गठन गरी स्थानीय तह तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँग समन्वयमा प्रविधि परीक्षण र प्रसारको जिम्मेवारी दिइनेछ।

उनले किसानसँग प्रत्यक्ष सम्पर्कमा आधारित अनुसन्धानबाट वास्तविक समस्या पहिचान गर्न र विकसित प्रविधि प्रभावकारी रूपमा विस्तार गर्न सहज हुने बताए ।

साथै, स्थानीय ज्ञान, किसानको अनुभव र वैज्ञानिक अनुसन्धानलाई समेट्ने परियोजनालाई प्राथमिकता दिइने र त्यसका लागि बजेटसमेत व्यवस्था गरिएको जानकारी दिए ।

परिषद्की अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. सुधा सापकोटाले सञ्चालन गरेकी उद्घाटन कार्यक्रममा योजना तथा समन्वय निर्देशक डा. भानुभक्त पोखरेल, पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. निना गोर्खाली, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्ट तथा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायलगायतको उपस्थिति थियो।

तालिममा नार्कको कार्यप्रणाली, परीक्षण सञ्चालन, प्रविधि प्रसार, बाह्य अनुसन्धान, वैज्ञानिक आचारसंहिता, परियोजना निर्माण, अनुगमन तथा मूल्याङ्कन, अनुसन्धान नीति लगायतका विषयमा प्रशिक्षण दिइनेछ। कार्यक्रममा ४४ जना वरिष्ठ वैज्ञानिक र २७ जना वैज्ञानिक सहभागी छन्।