हामि कृषि परिवर्तनका ठुलाठुला कुरा गर्छौ तर सामान्य काम गर्दैनौ, जो बिना पैसा सजिलै गर्न सकिन्छ त्यो गर्दैनौ अनि अनेक सपना देख्छौ हात लाग्यो शुन्य । म त भन्छु कृषि रुपान्तरणको मुख्य आधारभुत पक्ष भनेको हारहार खेती हो । यदी हारहारमा हामी खेती गर्दैनौ भने कृषि व्यवसायिकरणको सपना नदेख्दा हुन्छ । हारहार खेती प्रणाली कुनै नयाँ प्रणाली हैन यो केवल हामिले लगाउने बालीलाई लाईनमा रोप्ने तरिका मात्रै मात्रै हो । सामान्य भाषामा भन्दा बिउ तथा बिरुवालाई निस्चित दुरीमा लाईनमा मिलाएर रोप्ने पद्धतीलाई हारार खेती प्रणाली भनिन्छ । परम्परागत रूपमा बीउ छरेर, बिरुवा रोपेर वा भद्रगोल तरिकाले गरिने खेतीभन्दा लाइनमा मिलाएर गरिने हारहार खेती निकै प्रभावकारी, काम गर्न सजिलो हुनुका साथै नाफामूलक हुन्छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकिकरण र व्यावसायीकरण गर्न यो प्रणाली अपनाउनु पहिलो र अनिवार्य सर्त हो।यति बेला मुख्य तया धान बाली लगाउने मुख्य सिजन भएकोले किसानहरुलाई बिनम्र अनुरोध यही छ किसान बाली लगाउदा लाईमा मात्रै रोष्नु यही बाट मात्रै सुरु हुन्छ कृषिमा यान्त्रिकिकरण जसले श्रम, समय र लागत घटाउछ ।
१. हारहार खेती प्रणालीका फाइदाहरू :
यो प्रणाली अपनाउँदा किसानलाई काम गर्न सजिलो हुनुका साथै आम्दानीमा पनि वृद्धि हुन्छ जसका फाईदालाई निम्न बमोजिम उल्लेख गर्न सकिन्छ ।
उचित दुरीको कायम : बिरुवादेखि बिरुवा र लाइनदेखि लाइनको दुरी बराबर हुने हुनाले हरेक बिरुवाले पर्याप्त सूर्यको प्रकाश, हावा र पोषक तत्व पाउँछन जस बाट बिरुवा तथा त्यसको फल एकनासको हुन्छ।
यान्त्रिकिकरणमा सहजता : लाइनमा खेती गर्दा साना मेसिन (Power Tiller, Mini Tiller), बीउ रोप्ने मेसिन वा गोड्ने बाली कटान गर्ने जस्ता औजारहरू सजिलै प्रयोग गर्न सकिन्छ।
उत्पादन लागतमा कमी : मेसिन र औजारको प्रयोगले गर्दा थोरै श्रमिकबाट धेरै काम गर्न सकिन्छ, जसले खेताला खर्च घटाउँछ।
रोग र कीरा नियन्त्रण : बिरुवाहरू हारमा हुँदा औषधि छर्कन र रोग लागेको बिरुवा पहिचान गरी व्यवस्थापन गर्न सजिलो हुन्छ।
सिँचाइ र मलखादमा बचत : बिरुवाको फेद-फेदमा मात्र सिँचाइ र मल पुर्याउन सकिने हुनाले स्रोतको दुरुपयोग हुँदैन।
उत्पादनमा वृद्धि : समग्रमा बालीको समान वृद्धि र विकास हुने हुनाले उत्पादनको परिमाण र गुणस्तर दुवै बढ्छ।
२. परम्परागत खेती र हारहार खेती बीचको भिन्नता :
विशेषता परम्परागत तरिका (छरुवा) हारहार तरिका (लाइनमा खेती)
बीउ रोप्ने विधि हातले छर्ने वा हलोगोरु/ट्याक्टरको पछाडि जथाभाबी खसाल्ने आधुनिक औजार प्रयोग गरी निश्चित
दुरीमा रोप्ने
गोडमेल धेरै कामदार लाग्ने, समय धेरै खर्च हुने मेसिन वा सामान्य औजारले सजिलै र
चाँडो हुने
यान्त्रिकीकरण मेसिन चलाउन असम्भव वा कठिन मेसिनको प्रयोग गरी खेतीलाई
आधुनिक बनाउन सकिने
रोग-कीरा व्यवस्थापन गर्न कठिन र बढी खर्चिलो सहजै निगरानी र नियन्त्रण गर्न
सकिने
उत्पादन एकरुपता नहुने र क्षमता अनुसार उत्पादन नहुने सबै बिरुवाको समान विकास र
उच्च उत्पादन
३. हारहार खेती कसरी गर्ने ? (व्यावहारिक सुझावहरू)
क. योजना र रेखाङ्कन : जमिन तयार गरिसकेपछि लगाउन लागिएको बाली अनुसार (जस्तै: मकै, धान, तरकारी) कति दुरी राख्ने हो सोही अनुसार डोरी वा मार्करको सहायताले लाइन तान्नुपर्छ।
ख. औजारको छनोट : बीउ रोप्नका लागि “सिड ड्रिल” वा “ह्यान्ड सिडर” जस्ता साना मेसिनको प्रयोग गर्नुपर्छ। यसले बीउलाई सही गहिराइमा र समान दुरीमा खसाल्न मद्दत गर्छ।
ग. नियमित गोडमेल : बाली उम्रिएपछि लाइनको बीचमा साना “विडर” हरू चलाएर झार नियन्त्रण गर्नुपर्दछ। यसले माटोलाई खुकुलो बनाई बिरुवाको जरा फैलिन मद्दत गर्छ।
घ. सिँचाइ र मल व्यवस्थापन : लाइनमै सिँचाइ कुलेसो बनाउने वा थोपा सिँचाइ जोड्नाले पानीको बचत हुनुका साथै बिरुवा सप्रिन्छन्।
निष्कर्ष :
यसरी हामिले जुनसुकै फलफुल तथा तरकारी बाली तथा खाध्यान्न बालीमा हारहार खेती पद्धति अपनाउन सक्छौ । यो “हारहार खेती प्रणाली” अपनाउँदा कम श्रममा धेरै प्रतिफल लिन सकिन्छ। मल्चिङको प्रयोग गरी खेती गर्ने किसानहरु साथै व्यवसायिक तरकारी तथा मकै खेती गर्ने किसानहरु ले आजकाल यही पद्धती अपनाउने गरेका छन । त्यसैले, हामिले खेती गर्ने परम्परागत तरिकालाई छोडी आधुनिक प्रविधितर्फ लाग्नु नै आजको आवश्यकता हो त्यसका लागि हारहार खेती नै कृषि यान्त्रिकरणको पहिलो शर्त हो । सवै किसानले यो पद्धती अपनाउनु पर्छ तथा अपनाउन प्रोत्साहन गर्नुपर्छ ।









