ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा उद्यमी किसान र कृषि वैज्ञानिकबीच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा कृषि क्षेत्रमा देखिएका चुनौती, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानका व्यावहारिक समस्याबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डा. निना अमात्य गोर्खालीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठको उपस्थिति रहेको थियो।

प्रस्तुतीकरणमा जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका प्रभाव, जोखिम न्यूनीकरणका उपाय तथा आधुनिक कृषि प्रविधिको प्रयोगबारे जानकारी गराइएको थियो। त्यसैगरी, राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिकहरूले नेपाल कृषि अनुसन्धान परिषद्बबाट विकसित नवीनतम कृषि प्रविधि तथा अनुसन्धान उपलब्धिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा किसान र वैज्ञानिकबीच खुला अन्तरक्रिया तथा छलफल समेत सञ्चालन गरिएको थियो। सहभागी किसानहरूले खेतीपातीका क्रममा भोगिरहेका समस्या, उत्पादन लागत, रोग–कीरा व्यवस्थापन, बजार पहुँच तथा जलवायुजन्य चुनौतीबारे आफ्ना धारणा राखेका थिए। वैज्ञानिकहरूले उठाइएका जिज्ञासाको उत्तर दिँदै सम्भावित समाधान तथा प्राविधिक सुझाव प्रदान गरेका थिए।

छलफलका क्रममा उद्यमी किसानहरूले अनुसन्धान संस्थाले विकास गरेका प्रविधिहरूलाई अझ प्रभावकारी रूपमा गाउँस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका थिए। किसानका अनुभव र सुझावले आगामी अनुसन्धान तथा प्रविधि विकासमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी उद्यमी किसानहरूको तर्फबाट धारणा प्रस्तुत गरिएको थियो। अध्यक्ष डा. निना अमात्य गोर्खालीले गोष्ठीमा उठाइएका सुझावहरूलाई आगामी अनुसन्धान तथा कार्यक्रमहरूमा समेटिने प्रतिबद्धता व्यक्त गर्दै किसान र वैज्ञानिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो।

गोष्ठीले अनुसन्धान, प्रविधि र किसानबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।