ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र, खुमलटारको आयोजनामा ‘प्रकृतिबाट प्रेरित, जलवायुको लागि, हाम्रो भविष्यको लागि’ भन्ने नारासहित आज विश्व वातावरण दिवस २०२६ मनाइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले जलवायू परिवर्तनका चुनौती सामना गर्न कृषि अनुसन्धानलाई वातावरणमैत्री र दिगो विकाससँग जोड्नु पर्ने आवश्यकता औँल्याएका छन् । श्रेष्ठले प्राकृतिक स्रोतको संरक्षण गर्दै उत्पादन वृद्धि गर्ने प्रविधिको विकासमा अनुसन्धान संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका देवीप्रसाद अधिकारी, राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहाराका पवनकुमार झा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका राजु कँडेल तथा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्र खुमलटारका रामेश्वर रिमालले आ-आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुतिहरूमा पशुपालन तथा कृषि अनुसन्धानका क्षेत्रमा भइरहेका गतिविधि, उपलब्धि र वातावरणीय पक्षबारे जानकारी गराइएको थियो । यस्तै, कार्यपत्र प्रस्तुतिपछि सहभागीहरूबीच छलफल तथा समूह अभ्यास सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न अनुसन्धान केन्द्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।









