ललितपुर। एसिया–प्यासिफिक क्षेत्रका कृषि उत्साही, युवा नेतृत्वकर्ता तथा विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उदेश्यले यस वर्षको Asia-Pacific Directors’ Meeting (APDM) को विषयवस्तु “From Himalayas to Horizons: Regional Pathways for Sustainable and Women-Empowered Agriculture” रहेको छ।

कार्यक्रमले भावी कृषि उद्यमी, अनुसन्धानकर्ताहरू तथा युवा विज्ञहरूबीच सार्थक संवाद, क्षेत्रीय सहकार्य र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। आईएएएस नेपाल द्वारा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनलाई विचार आदान–प्रदान, नवप्रवर्तन अन्वेषण र कृषि विद्यार्थीबीचको सम्बन्ध सुदृढीकरणका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

काठमाडौं विश्वविद्यालय, धुलिखेलमा तीन दिनसम्म चल्ने कार्यक्रममा क्षेत्रीय रणनीतिक बैठक (General Assembly), विशेषज्ञ सत्र, महिला सशक्तिकरण र जलवायु उत्थानशीलतामा केन्द्रित प्यानल छलफल, प्रदर्शनी (Trade Fair) र नेटवर्किङ अवसरहरू रहनेछन्। यी गतिविधिहरूले भावी कृषि नेताहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ। APDM को मुख्य उद्देश्य कृषिमा दिगोपन र महिला-युवा नेतृत्वलाई व्यवहारिक प्रगतिमा रूपान्तरण गर्न सक्ने कार्यमुखी छलफलहरूलाई प्रेरित गर्नु हो। सम्मेलनले नेटवर्क निर्माण मात्र नभई नेपाल र समग्र एसिया–प्यासिफिक क्षेत्रको कृषि क्षेत्रलाई दिगो, समावेशी र आधुनिक दिशातर्फ अघि बढाउने प्रेरणा पनि दिने बताइएको छ।

आईएएएस नेपालले दीर्घकालीन रूपमा कृषि विकास र जलवायु अनुकूलनमा युवाको सक्रिय सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।