ललितपुर। सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । शुक्रवार शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहति उत्कृष्ट १४ जनालाई सम्मान गरेका हुन् । सम्मानित हुने किसानहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छिन् । मन्त्री चौधरीले कृषकहरुलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार प्रतिवद्ध रहेको बताएकी हुन् । सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिंचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताइन् । यद्यपि कृषकहरूले अझै पनि विभिन्न चुनौती झेल्नु परेको विषयमा मन्त्रालय गम्भीर र सचेत रहेको चौधरीले बताइन् । मन्त्री चौधरीले कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यमका रूपमा मात्र नभई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारिन् ।

स्वदेशी उत्पादन र दिगो कृषिलाई प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री चौधरीले नेपालको कृषि प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्र र सरोकारवाला निकायहरू एकजुट हुनु पर्ने आवश्यकता औँल्याइन् । मन्त्री चौधरीले भनिन्,‘ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई उच्च प्राथमिकतामा राखेको छु । कृषकहरुलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिँचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण, बाली तथा पशुधन बीमा लगायतका सहुलियत प्रदान लगायतमा सहुलियत प्रदान गर्दै आइराखेको छ तथापि कृषकहरूले यी विषयमा निकै चुनौती झेल्नु परेकोतर्फ मन्त्रालय सचेत छ ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनावद्ध रुपमा नीति तथा कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन् । देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतिको पहिचान गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य पनि स्पष्ट पारे । पौडेलले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा र कृषि विमालाई राज्यले प्राथमिकतामा राख्नु पर्ने उल्लेख गरे ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । चौधरीले कृषिलाई परम्परागत पेशाका रूपमा नभई सम्मानित, आधुनिक र व्यवसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको समेत बताए । ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताले हामीलाई कृषि क्षेत्रमा अपार सम्भावना दिएको छ । आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी बनाउन सक्यौँ भने नेपाल आत्मनिर्भर मात्रै होइन कृषि निर्यात गर्नसक्ने राष्ट्र हुन सक्छ’,चौधरीले भने,‘यसको लागि हामी पनि लागिपरेका छौँ भन्ने कुरा म राख्न चाहान्छु । सरकारले कृषिलाई परम्परागत पेशाको रुपमा मात्र नभई सम्मानित, आधुनिक र व्यवसायिक पेसाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।’