चितवन। ए.बी. पेलेट फिड प्रा.लि. र शाही सप्लायर्सको संयुक्त आयोजनामा “उत्कृष्ट पोषण र उत्कृष्ट उत्पादन” भन्ने उद्देश्यसहित कुखुरा पालन सम्बन्धी एक दिने विशेष व्यावसायिक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम इच्छाकामना गाउँपालिका–८, कुरिनघाटस्थित शाही सप्लायर्समा आयोजना गरिएको थियो।
कार्यक्रममा करिब ६० जना किसान तथा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ए.बी. पेलेट फिड प्रा.लि.का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेल, पशु चिकित्सक डा. कुमार पौडेल तथा डा. थानेश्वर भट्ट प्रमुख प्रशिक्षकको रूपमा उपस्थित रहनुभएको थियो। साथै कार्यक्रम संयोजक दिपेश लामिछाने, बजार व्यवस्थापक आनन्द चौधरी तथा शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेलले कुखुरा पालनमा तापक्रम व्यवस्थापन, हेरचाह, भेन्टिलेसन तथा खोर व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले गुणस्तरीय दाना उत्पादनसँगै किसानलाई उचित व्यवस्थापन सम्बन्धी ज्ञान आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीले किसानहरूमा ब्रुडिङ व्यवस्थापन, तापक्रम नियन्त्रण तथा खोर व्यवस्थापन सम्बन्धी जानकारीको कमी रहेको भन्दै व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो।
तालिममा डा. थानेश्वर भट्टले खोर व्यवस्थापन, ब्रुडिङ व्यवस्थापन, लिटर व्यवस्थापन, पानी व्यवस्थापन, भेन्टिलेसन, लाइट व्यवस्थापन, खोर निसंक्रमण तथा सरसफाइ सम्बन्धी विस्तृत प्रशिक्षण दिनुभएको थियो। त्यस्तै डा. कुमार पौडेलले जैविक सुरक्षा (बायो–सिक्युरिटी), खोप व्यवस्थापन तथा कुखुरामा देखिने विभिन्न रोगहरूको रोकथाम र नियन्त्रण सम्बन्धी महत्वपूर्ण जानकारी दिनुभएको थियो।
कार्यक्रम संयोजक दिपेश लामिछानेले यस्ता तालिम कार्यक्रमले किसानहरूलाई आधुनिक तथा वैज्ञानिक ढंगबाट कुखुरा पालन गर्न प्रेरित गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता जनचेतनामूलक तथा प्राविधिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी सबै ६० जना किसानहरूलाई एक दिने तालिम सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो। तालिम सम्पन्न भएपछि सहभागी किसानहरूले कार्यक्रम अत्यन्त उपयोगी, ज्ञानवर्धक तथा व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।









