ललितपुर। चिया निर्यातमा भारतले गरेको अवरोध २० दिनपछि खुलाएको छ। चिया निर्यातको सिजनमै भारतले एक्कासी निर्यातमा रोक लगाएपछि समस्यामा परिरहेको बेला बुधबारदेखि खुलाएको हो।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको चिया बोर्डले मंगलबार राति सूचना जारी गर्दै चिया निर्यातमा सहज बनाएको छ। यसअघि भारतले नेपालबाट त्यसतर्फ जाने चियामा लगाएको गैरभन्सार अवरोध हटाएको र पत्र आउने वित्तिकै खुला हुने चिया व्यवसायीले जानकारी दिए।

चिया बोर्डले जारी गरेको सूचनामा आयात गरिने चियाका खेप (कन्साइनमेन्ट)हरुमा र्‍यान्डम (अनियमित)परीक्षण गरिने जनाएको छ। योसँगै भारतभित्रको उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छेको परीक्षण आवश्यक नहुने भएको छ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतको चिया बोर्डको सूचनासँगै निर्यातको बाटा खुलेको जानकारी दिए।

भारतले १८ वैशाखदेखी लागु हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गर्दै ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ (भारु) शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान जारी गरेको थियो ।

यसपछि नेपालबाट भारतमा हुने चिया निर्यात ठप्प बनेको थियो । नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरेको थियो । करिब तीन सातापछि मात्रै भारतले सहजीकरण गरेको हो ।