ललितपुर। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा रु. ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु. ४८५ फार्मदर कायम गरिएको छ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु. २५ कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु. ४८५ र मध्यम अण्डा रु. ४३५ कायम गरिएको उनले बताए।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए। उनले भने, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ।”
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए।
लागत मूल्य समयमा पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन्। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारढाले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्।









