काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिका-६ का ७१ परिवारलाई ६ हजार ८०० वटा कफीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले “जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. २० को नोट” भन्ने नारालाई निरन्तरता दिँदै कफी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाले गरेको फिल्ड अनुगमनमा ६ हजार ८०० खाडल तयार गरिएको पाइएपछि सोहीअनुसार बिरुवा वितरण गरिएको जनाएको छ । वडाभित्र करिब १३ हजार बिरुवाको माग भए पनि पर्याप्त बिरुवा उपलब्ध गराउन नसकिएको वडाध्यक्ष रमेश लुङ्गेलीले बताए ।
दक्षिणपूर्वी काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत गाउँपालिकामा व्यावसायिक कफी उत्पादनलाई आधुनिक र व्यवस्थित बनाउन गाउँपालिकाले हरेक वर्ष किसानलाई बिरुवासँगै आधुनिक कृषि सामग्रीसमेत वितरण गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा का अनुसार किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्ने र कफीबाट आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
हाल गाउँपालिकाभित्र एक हजार ४३३ रोपनी क्षेत्रफलमा कफीखेती भइरहेको छ भने करिब एक हजार २०० किसान व्यावसायिक रूपमा कफी उत्पादनमा संलग्न रहेका छन् । गाउँपालिकाले कफीलाई पकेट क्षेत्रका रूपमा विकास गर्दै वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्दै आएको जनाएको छ ।
गाउँपालिकाले उत्पादित कफीमध्ये प्रतिकिलो रु. २० अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । विगत १२ वर्षदेखि कफीखेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलान ले अनुदानले किसानलाई थप उत्साहित बनाएको बताए ।









