ललितपुर। बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघले ४ दिन अवधिमा अन्डाको मूल्य फेरि बढाएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४ सय रुपैयाँ थियो ।

त्यसैगरी ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो (लार्ज) अन्डाको मूल्य अब ४ सय ८५ रुपैयाँ कायम गरिएको छ भने ४ सय ६५ रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य ३५ बढेर ५ सय रुपैयाँ पुगेको छ ।

देशका विभिन्न भागमा फैलिएको बर्डफ्लुका कारण हालसम्म ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट गरिएकाले उत्पादनमा उल्लेख्य गिरावट आएपछि संघले मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ ।