ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आज ३५औँ स्थापना दिवस मनाएको छ। ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नाराका साथ नार्कले ललितपुरमा एक समारोह गर्दै स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा  बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने बताएका छन् ।

कृषि क्षेत्रमा बजेटको अभाव भइरहेका बेला उनले सो क्षेत्रका लागि सरकारले अब बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै मिश्रले सरकारले कृषि अनुसन्धानको कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे ।

कृषि अनुसन्धानका लागि ठोस प्रस्ताव आए सरकारले तत्काल बजेटको व्यवस्था गर्ने सचिव मिश्रको आश्वासन थियो ।

उनले बजेटको अभावमा रहेको कृषि अनुसन्धान सम्बन्धि कार्यक्रमलाई सरकारले कुनैपनि बेला बजेटको आवश्यक व्यवस्था मिलाउन सक्ने पनि बताए ।

सचिव मिश्रले भने, ‘रिक्त दरबन्दीहरू यो वर्षबाट सुरु हुन थालेका छन् । विनियम आएको छ । पुनर्संरचनाको काम सुरु भएको छ । ऐन संशोधनका लागि कार्यदल गठन भएको छ । र नेपाल सरकारले कृषि अनुसन्धानलाई असाध्यै प्राथमिकतामा राखेको छ ।’

२०४८ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो ।

गत आर्थिक वर्ष ३ अर्व ५८ करोड बजेट पाएको नेपाल कृषि अनुसन्धान परिषद्को अधिकांश रकम प्रशासनीक काममा खर्च हुँदैं आएको छ भने तीन समुहमा १८२३ दरवन्दीमा हाल ४८ प्रतिशत पदहरु रिक्त छन् ।