ललितपुर। कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ ।
मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ ।
विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ।









