ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघमा आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी सुनिता नेम्हाफुकीले महिलाहरुको उपस्थिति संघहरुमा वृद्धि गर्नको लागि उम्मेदवारी दिएको बताइन् ।
उम्मेदवारी घोषणा गर्दै नेम्हाफुकीले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।उनले अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सोच रहेको भएपनि वर्तमान समयमा महिलाहरू सीईओदेखि बोर्डरुमसम्म सक्रिय रूपमा सहभागी भइरहेको बताइन् ।
नेपालको बदलिँदो राजनीतिक तथा आर्थिक परिवेशबीच महिला उद्यमशीलता प्रवर्द्धनलाई केन्द्रमा राख्दै व्यवसायी सुनिता नेम्हाफूकी नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उनी शिव प्रसाद घिमिरेको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएकी हुन्।
नेम्हाफूकीले आफ्नो एजेन्डाको मूल आधार “महिला उद्यमीलाई सहभागी मात्र होइन, नेतृत्वदायी भूमिकामा स्थापित गर्ने” रहेको बताएकी छन्। उनका अनुसार पछिल्ला राजनीतिक परिवर्तनहरूले निजी क्षेत्रका लागि नयाँ अवसर सिर्जना गरेको र त्यसको अधिकतम उपयोग महिला उद्यमीहरूले गर्नुपर्ने समय आएको छ।
उनले प्रस्तुत गरेको योजनामा महिला उद्यमशीलताको वर्तमान अवस्था, चुनौती र सम्भावनालाई समेट्दै ठोस कार्यदिशा अघि सारेकी छन्। वित्तीय पहुँचको अभाव, सीमित बजार पहुँच, प्रविधिमा कमजोर पहुँच तथा नीतिगत प्रतिनिधित्वको कमी महिला उद्यमीका प्रमुख समस्या रहेको उनले औंल्याएकी छन्।
यद्यपि, डिजिटल प्रविधिको विस्तार, ई–कमर्स, डिजिटल भुक्तानी प्रणाली तथा कृषि र वस्तुगत क्षेत्रमा बढ्दो अवसरले महिला उद्यमीहरूका लागि नयाँ ढोका खोलेको उनको भनाइ छ।
उनले महासंघ अन्तर्गतका वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै तीन मुख्य प्राथमिकता अघि सारेकी छन्। पहिलो, सरकार र निजी क्षेत्रबीच डिजिटल समन्वयलाई सुदृढ बनाउनेस दोस्रो, परम्परागत नीतिगत वकालतभन्दा अगाडि बढेर नीतिगत साझेदारीमा केन्द्रित हुनेस र तेस्रो, स्टार्टअप तथा महिला उद्यमीका लागि इन्क्युबेसन सेन्टर र मेन्टरसिप कार्यक्रम सञ्चालन गर्ने।
त्यसैगरी “मेक इन नेपाल” अवधारणालाई व्यवहारमा उतार्न गुणस्तर प्रमाणीकरण र अन्तर्राष्ट्रिय बजारीकरणमा महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताएकी छन्।
नेम्हाफूकीका अनुसार नयाँ राजनीतिक परिस्थितिले सुशासन, पारदर्शिता र डिजिटल प्रणालीमार्फत व्यवसाय सञ्चालनलाई सहज बनाउने संकेत देखिएको छ। यस्तो अवस्थामा महासंघले पुरानो शैलीको लबिङ त्यागेर आर्थिक रूपान्तरणको साझेदारका रूपमा काम गर्नुपर्ने उनको धारणा छ।
उनले भनिन्, “अब समय आवाज उठाउने, नेतृत्व लिने र परिवर्तनलाई अगाडि बढाउने हो। महिला उद्यमीहरूलाई आर्थिक विकासको केन्द्रमा राख्न सके मात्रै नेपालको समृद्धि सम्भव छ।”
महासंघको निर्वाचन नजिकिँदै गर्दा नेम्हाफूकीको यो एजेन्डाले विशेषगरी महिला उद्यमीहरूबीच नयाँ बहस र अपेक्षा सिर्जना गरेको छ।









