ललितपुर। राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आज बिहीबारदेखि तेस्रो ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८२’ सुरु भएको छ ।
नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नर्सरी व्यवसायको विकास र विस्तारका साथै प्रोत्साहन गर्ने उद्देश्यसाथ पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत प्रदर्शनी सुरु भएको हो ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले एक्स्पो उद्घाटन गर्दै नेपालमा पुष्प व्यवसाय वार्षिक १० देखि १५ प्रतिशतले वृद्धि भइरहेको र यसले स्वरोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आगामी बजेटमा यस क्षेत्रका लागि थप रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पुष्प व्यवसायलाई केवल खेतीपातीका रूपमा मात्र नभई एउटा कला र सिपयुक्त पेसाका रूपमा विकास गर्नुपर्ने बताए ।
‘यो व्यवसायमा कलात्मकता पनि जोडिएको छ, अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यवसायलाई आधुनिक र प्रविधियुक्त बनाउन आवश्यक तालिम र प्राविधिक सहयोगका लागि प्रदेश सरकार सधैं व्यवसायीको साथमा छ,’ मन्त्री पौडेलले भने ।
यस्तै कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले अब कृषि विकासमा निजी क्षेत्रले अगुवाइ गर्ने र सरकारले सहयोगी तथा नीतिगत सहजीकरणको भूमिका खेल्ने बताए । समस्या पहिचानको चरण सकिएकाले अब समाधानतर्फ केन्द्रित हुने बेला आएको उनको भनाइ छ ।
समग्र लगानी र रोजगारीमा ८० देखि ८५ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रलाई सरकारले ‘लिडिङ एजेन्सी’ का रूपमा स्वीकारेको उनले बताए ।
नर्सरी तथा पुष्प व्यवसायका समस्या समाधानका लागि विभागले काम गरिरहेको जानकारी दिँदै उनले गुणस्तर, क्वारेन्टिन र आयात–निर्यात सहजीकरण जस्ता विषय सम्बोधन गर्न कृषि ऐन संशोधनसम्मको तयारी भइरहेको बताए ।
सरकारले १० हजार हेक्टरमा फलफूल खेती विस्तार गर्ने लक्ष्य लिएको र त्यसका लागि लाखौं बिरुवा आवश्यक पर्ने हुँदा नर्सरी व्यवसायको भविष्य उज्यालो रहेको उनको भनाइ थियो ।
एक्स्पोमा देशभरिका नर्सरी व्यवसायीहरू व्यावसायिक स्टल, सूचनामूलक स्टल, प्रतिस्पर्धा स्टल लगायत गरी ६५ भन्दा बढी स्टल छ । एक्स्पोमा ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएका छन् ।
एक्स्पोमा मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउबिजन, गमला, औजार उपकरण तथा प्रविधि समेत प्रदर्शनी गरिएको छ । संघका अनुसार यस वर्ष करिब ५१ हजार जनाले अवलोकन गर्ने तथा १ करोड ५० लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।
हाल नर्सरी क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँ लगानी रहेको र वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँको आर्थिक कारोबार हुने गरेको संघले जानकारी दिएको छ ।









