ललितपुर। च्याउ उत्पादक किसान संघ नेपालको ‘तेस्रो राष्ट्रिय अधिवेशन’ चैत २० र २१ गते आयोजना हुने भएको छ । संघले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको आगामी नीति, कार्यक्रम र संरचनासम्बन्धि महत्वपूर्ण निर्णयहरू गर्ने जनाएको छ ।
उक्त अधिवेशन ललितपुरको महालक्ष्मी नगरपालिका -९, लामाटारमा रहेको संघको नवनिर्मित केन्द्रीय भवनबाट सञ्चालन गरिने छ । सोही अवसरमा संघको केन्द्रिय कार्यालयको औपचारिक उद्घाटनसमेत गरिने कार्यक्रम रहेको छ । संघका प्रचार विभाग प्रमुख रमेश सापकोटाका अनुसार अधिवेशनमा च्याउ उत्पादन, प्रवर्द्धन र बजार विस्तारसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल गरिने छ । साथै, आगामी कार्यदिशा तय गर्दै नयाँ नेतृत्व चयन गर्ने तयारी पनि गरिएको छ ।
संघका अनुसार मुलुकभर करिब ३० हजार किसानहरु व्यवसायिक च्याउ खेतीमा संलग्न छन् । आयोजकले अधिवेशनलाई सफल र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जनाएको छ । देशभरबाट प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा च्याउ उत्पादनलाई व्यवस्थित गर्दै व्यवसायीकरण र आत्मनिर्भर कृषि प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको हो ।









