
ललितपुर। नुवाकोटको हरियाली भूगोलमा यतिबेला एउटा रातो सम्भावना फस्टाउँदैं छ – अकबरे खुर्सानी । बेलकोटगढी नगरपालिकाका सबै १३ वडामा फैलिएको व्यवसायिक अकबरे खेतीले यहाँका किसानको दैनिकी मात्र होइन, सोचाइ नै फेरिएको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा अकबरे खुर्सानीका बिरुवा वितरण गरेको छ । वितरणसँगै कृषकहरूलाई तालिम, ढुवानी र विषादीसमेत निःशुल्क उपलब्ध गराइएको थियो, जसले गर्दा खेतीमा लाग्ने लागत न्यून हुन पुग्यो । कृषि प्राविधिक सुन्दर श्रेष्ठका अनुसार नगदे मसला खेतीका रूपमा अकबरे खुर्सानी यहाँ निकै लोकप्रिय बन्दै गएको छ । केही कृषकले १५ रोपनीसम्म जमीनमा यो बाली लगाएका छन्, जुन आफैँमा ठुलो उपलब्धि हो । अब बेलकोटगढीका बजारहरूमा घरायसी मसला मात्रै होइन, व्यवसायिक आम्दानीका स्रोतका रूपमा पनि अकबरे खुर्सानीलाई हेर्न थालिएको छ ।
बेलकोटगढी नगरपालिका वडा नम्बर -१३ का किसान कृष्णप्रसाद पाण्डेले भने,‘पहिलेको तुलनामा खर्च कम छ, तर प्रतिफल राम्रो छ । बजारमा माग उच्च छ, त्यसैले हामी खुर्सानीको खेती थप विस्तार गर्ने योजना बनाउँदै छौँ ।’ यस्तै, कृषि शाखा प्राविधिक श्रेष्ठका अनुसार अकबरे खुर्सानीको माग बजारमा अत्यधिक रहेको र गुणस्तरका आधारमा राम्रो मूल्य पाइने भएकाले किसानहरू लाखौं आम्दानी गर्न सक्षम हुने अपेक्षा गरिएको छ । बेलकोटगढी नगरपालिकाको योजनाबद्ध सहयोग, आधुनिक प्रविधिको प्रयोग (जस्तै : मल्चिङ) र किसानहरुको आत्मविश्वासले अकबरे खुर्सानी खेतीलाई यहाँको पहिचान बनाउने दिशातर्फ उन्मुख बनाइरहेको छ ।अब यो खेती केवल रातो खुर्सानीमा सीमित छैन – यो हो, बेलकोटगढीको आर्थिक समृद्धितर्फको रातो बाटो ।