ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो ।

सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २ करोड ७० लाख किलो चिया उत्पादन भएको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने २ करोड ६४ लाख किलो उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा २ करोड ६३ लाख किलो उत्पादन भएको थियो । पछिल्लो सात वर्षको अवधीमा आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्ममा भने चियाको उत्पादन घटेको थियो ।

भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार गत् आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६३ करोड रुपैयाँबराबरको १ करोड ६५ लाख किलो चिया नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्मको अवस्थामा नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ ।

चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात हुने बोर्डको भनाइ छ ।

नेपालमा १५ हजार २०३ जना चिया किसान चिया खेतीमा आवद्ध छन् । यस्तै १ सय ७१ वटा टी स्टेट र साना मझौला गरी १ सय २० वटा चिया प्रशोधन केन्द्रहरु सञ्चालनमा छन् । यस्ता टी स्टेट र प्रशोधन केन्द्रमार्फत करिब ६० हजार नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

नेपालमा उत्पादन भएको चिया सर्वोत्कृष्ट गुणस्तरको रहेको पछिल्लो समयमा विभिन्न अन्तर्राष्ट्रिय निकायमा भएको प्रतिस्पर्धाले पुष्टि गरेको छ ।

२९ औं राष्ट्रिय चिया दिवस मनाउँदैं :
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०८२ बैशाख १५ गते “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ २९ औं चिया दिवस मनाउने भएको छ । कृषि मन्त्री रामनाथ अधिकारीको आतिथ्यमा कृषि विभागको हलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न जिल्लामा उत्पादन भएका चियाको स्वाद समेत लिन सकिने छ ।