ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताएका छन् । ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस र यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौँमा शुभारम्भ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताएका हुन् ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४% योगदान पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने,‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पुर्याइरहेको छ ।’ किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जनाउँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताए ।

जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्नेमा बेला आएको बताए । जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको जनाउँदै मन्त्री अधिकारीले भने,‘कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको छ ।’

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याए । विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्धनशील विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जनाउँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गरे ।

सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको काम गरी रहेको जनाउँदै कृषि मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी पनि भइरहेको जानकारी दिए।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने, र निजी क्षेत्रको लगानी बढाउने नीति वातावरण सिर्जना गर्न मद्दत पुग्ने उनले दाबी गरे । नेपालको आर्थिक समृद्धिको लागि कृषिमा रूपान्तरण भएकोमा जोड दिँदै त्यसका लागि लिनुपर्ने नीति र बाटो बारे थप सुझावको पनि आफूले अपेक्षा गरेको उनले बताए ।

यूएसएआइडीले पछिल्लो सात दशकदेखि नेपालमा गरिबी, भोकमरी र कुपोषण घटाउन योगदान पुर्‍याएको जनाउँदै मन्त्री अधिकारीले त्यसका लागि नेपाल सरकारतर्फबाट कृतज्ञता व्यक्त गरे, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राखेको बताए । ‘नेपाल सरकारले जिएफएस्एस् र जिटुजी पहलहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न दृढ प्रतिबद्धता जाहेर गर्दछ, जसले “समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणमा योगदान  पुर्‍याउनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत महामहिम डिन आर थोम्पसन, यूएसएआइडी नेपालको मिसन निर्देशक मिस क्याटी डोनोहोसहित विभिन्न व्यक्तिहरू सहभागी थिए ।