जलजला। जलजला गाउँपालिकाले बिउ आलु उत्पादन गरेर गत आर्थिक वर्षमा २९ लाख ७१ हजार ६ सय ४९ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।

गाउँपालिकाले सञ्चालन गरेको आलु विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन गरेर पालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा उक्त आम्दानी गरेको हो । खुमल सेतो,जनकदेव,कुफ्री ज्योती र कार्डिनल जात गरेर ६३ हजार ७७ केजी बिउ आलु कृषकबाट खरिद गरेर करिब सात महिना कोल्डस्टोरमा राखेर आलु रोप्ने सिजनमा बिक्री गरेको पालिकाको कृषि विकास शाखाले जनाएको छ ।

कोल्डस्टोर भण्डार गरेको बिउ आलु निकालेर २७ हजार एकसय केजी पालिकाका कृषकहरुलाई पचास प्रतिशत अनुदानमा बिक्री गर्दा ८ लाख १३ हजार र म्याग्दी,पर्वत र कास्कीका ज्ञान केन्द्र मार्फत अनुदान प्राप्त गर्ने कृषकहरुलाई प्रतिकेजी ६० का दरले ३५ हजार ९ सय ७७ केजी बिक्री गर्दा २१ लाख ५८ हजार ६ सय ५९ रुपियाँ गाउँपालिकालाई आम्दानी भएको कृषि शाखाका प्रमुख राजु गौतमले जानकारी दिनुभयो ।

कार्यक्रम लागू भएपछि किसानहरुलाई आलुको बिउ खोज्नुपर्ने समस्या हट्नुका साथै पालिकालाई पनि आन्तरिक आम्दानी भएको उहाँको भनाई छ । आर्थिक वर्ष २०७९/८० मा स्याङ्जाबाट ११ हजार एकसय ५० केजी बिउ आलु खरिद गरेर विभिन्न वडाका कृषकहरुलाई समुहगत रुपमा बिउ आलु उत्पादनका लागि वितरण गरिएको थियो ।

उहाँका अनुसार पालिकाले उपलब्ध गराएको आलु लगाएका नाग्लीबाङ,धाइरिङ,लेखफाँट र सालिजाका कृषकहरुले ७५ हजार पाँचसय केजी बिउ आलु उत्पादन गरेका थिए । किसानले उत्पादन गरेको मध्य ६३ हजार ७७ केजी बीउ आलु पालिकाले खरिद गरी पोखरा स्थित पश्चिमाञ्चल कोल्डस्टोर मालेपाटनमा राखिएको थियो ।

आलु लगाउने आगामी सिजनका लागि २०८०्८१ मा किसानले उत्पादन गरेको आलुको मुल बिउ २२ सय ७० केजी र प्रमाणित दोस्रो पुस्ताको बिउ ३३ हजार दुईसय केजी गत असार महिनामा खरिद गरी कोल्ड स्टोरमा राखिएको कृषि शाखाले जनाएको छ ।

सालिजाको प्रगतिशील बीउ उत्पादक कृषक समुहले उत्पादन गरेको दुई हजार दुईसय ७० केजी मुल बिउ प्रतिकेजी ३५ का दरले ७९ हजार चारसय ५० र नमुना कृषि तथा पशुपंक्षी कृषक समूह र प्रगतिशिल बिउ उत्पादक कृषक समुहले सामुहिक रुपमा उत्पादन गरेको कुल ३३ हजार दुईसय केजीको प्रमाणित प्रथम पुस्ताको बिउको प्रतिकेजी ३० रुपियाँका दरले ९ लाख ९६ हजार रुपियाँ कृषकलाई प्रदान गरिएको कृषि शाखाका प्रमुख राजु गौतमले जानकारी दिनुभयो ।

रैथाने जातका आलुको बिउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै मुल बिउ र उन्नत जातको बिउ उत्पादनका लागि आलु विकास कार्यक्रम सञ्चालन गरेको कृषि शाखाका प्रमुख गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बिउ संरक्षणको प्रयास गरे पनि रैथाने जातको बिउमा रोग र ढुसी लाग्ने लगायतका विभिन्न समस्या देखिएपछि पालिकाले उन्नत जातको बिउ उत्पादन गर्न लागेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । जलजलालाई आलुको बिउमा आत्मनिर्भर बनाउँदै कृषकको आम्दानी र पालिकाको आन्तरिक आम्दानी बढाउन आलु विकास कार्यक्रम प्रभावकारी भएको उहाँको भनाई छ ।