सामान्यतया बोट बिरुवाको उत्पादनमा रोग किरा,मुसा, चरा तथा झारपातहरुले क्षति पुर्याउने डर किसानहरुलाई सँधै हुन्छ। पर्याप्त बाली उत्पादन गर्न बाधा पुर्याउने यी कारकहरुलाई विभिन्न रसायनहरु प्रयोग गरी नियन्त्रण गर्न सकिन्छ। यिनै रसायनहरुलाई विषादी भन्ने गरिन्छ ।
विषादीसँग हुन सक्ने शारीरिक सम्पर्क कम गराउन विषादीको उत्पादन, पैठारी, खुद्रा विक्री, परिवहन, मिसावट र प्रयोग गर्ने कार्यमा संलग्न सबै व्यक्तिले विषादी के कस्तो प्रकारसंग शरीरभित्र प्रवेश गर्न सक्दछ र यसरी प्रवेश गरेको अवस्थामा कतिसम्म विष लाग्न सक्छ त्यसबारे राम्रो जानकारी राख्नु पर्दछ।
१. छालाबाट 
विषादी मिलाउँदा पोखिई वा छर्किएर लाग्न गई प्रदूषण हुन सक्छ । छर्किएको विषको झोल वा धूलो हावाको वहावबाट पनि सोसिन सक्छ । छालाबाट विषादी सोसिन जानुको एउटा सामान्य कारणमा प्रदुषित पहिरनलाई तत्काल नहटाई लामो समयसम्म लगाई रहंदा पनि उत्पन्न भएको पाइन्छ (चुहिएको स्प्रेयेसले छ्कंदा, हावाको दबावबाट वा पोखिएर) घाउ लाग्न् , खस्रिनु र छालामा दाद जस्तो दाग हुनु जस्ता अवस्थाहरुमा छालाले सजिलो संग विष सोस्ने गर्दछ। घाँटी, मुख र टाउको विष सोस्न बढ़ी संवेदनशिल हने गरेको अध्ययनबाट देखिन आएको छ। विभिन्न प्रकारका विषादीहरूको छालाबाट विष सोस्ने बेग्ला बेग्लै क्षमता हन्छ ।
२. स्वास प्रश्वास कृयाबाट 
स्वास प्रश्वास कृयाबाट विषादी प्रवेश हुन आएमा त्यसले रक्तलाई प्रभावित पारी विष लाग्न सक्ने हुन्छ। खासगरी मसिनो पाउडर, धुलो र धुवाईने विषादीबाट उपरोक्त अवस्था उत्पन्न हुन सक्छ । पानीमा मिसिने धुलोबाट मिसावट गर्दा, धूलो छर्दा र घरभित्र कीटनाशक विषादी छर्कदा श्वास क्रियाबाट विषादी प्रवेश हुन सक्ने संभावना बढ़ी हुन्छ । विषादी मानव शरीरमा प्रवेश गरेपछि त्यसबाट नाक, घाटी र फोक्सोलाई नराम्रो असर पुग्न जान्छ।
३. खाने प्रक्रियाबाट
खाद्य सामग्रीबाट विषको सेवन हुन जान्छ र यसका साथै पेय-पदार्थहहरुबाट पनि विष प्रदूषण हुन जाने अवस्थाहरु तीन किसिमबाट हन सक्छन् :-
पहिलो : लेबुल नभएका वीयर, कोक जस्ता शिशीहरुमा विष राखिने गरिएमा र त्यस भाँडोबाट झुक्किएर पेय पदार्थ सम्झि वा अन्य खानेकुरा सम्झि पिएमा वा खानासंग खाएमा प्रदुषण हुन पुग्छ।
दोश्रो : विषादी मिसाउँदा वा छर्कदा संलग्न व्यक्तिको मुख, हातमा झोल वा धूलो छर्किन गएमा र त्यस प्रकार सँगै संसर्गमा आएको अंगलाई खान पिन र धुम्रपान गर्नु अगाडी राम्री सफासँग नधोईएमा प्रदुषण हुन जान्छ।
तेस्रो : स्प्रेयरका नोजलहरू जाम भएको अवस्थामा मुखले फुकेर वा चुसेर सफा गर्न खोजिएमा पनि मुखको बाटो भई विष सेवन हुन जान्छ।
४. आँखाबाट 
आँखा बढ़ी कोमल अंग भएको कारणबाट यसको धेरै रसायनबाट प्रभावित हुने प्रकृति रहन्छ र विषलाई छिटै सोस्न सक्दछ। विषको झोल मिसावट गरी तयार गरिदा छिटा पर्न गएमा, विषको झोल वा धुलो छर्दा हावाको बहावबाट र प्रदूषित हात वा पहिरनले आँखा पुछिएमा (मिच्दा) त्यसको संसर्गबाट प्रदूषण हुन सक्छ ।
अतः विषादीको प्रयोग सुरक्षित तरिकाले गरिएन भने प्रत्यक्ष असरका रुपमा आँखा चिलाउने, पोल्ने, छालाका विभिन्न समस्या तथा श्वास प्रश्वास सम्बन्धी विभिन्न लक्षणहरु देखा पर्दछन् । यी स्वास्थ्य समस्याहरु मानिसलाई सामान्य लाग्न सक्दछन् तर लामो समयसम्म विषादीको प्रयोग गरि रहनाले र विषादीयुक्त खाना खानाले क्यान्सर, पक्षघात, बाझोपन, सुस्त मन स्थितिका शिशु जन्मिने तथा उच्च रक्तचाप जस्ता समस्या पनि देखा पर्न सक्दछन् । भरतपुर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले वि.सं. २०६০ देखि २०६९ सम्म नेपालका सबै क्यान्सर अस्पतालका बिरामीहरुको तथ्यांक विश्लेषण गर्दा सबै भन्दा बढी क्यान्सर कृषकहरुमा देखाएको थियो ।