ललितपुर। सरकारले धानको समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टलमा दुई सय १८ रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य दुई सय १२ रुपैयाँ ५१ पैसाले बढाएको हो । अब मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र मोटा धानको समर्थन मूल्य तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा प्रतिक्विन्टल कायम भएको छ ।
अघिल्लो वर्षका लागि सरकारले मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको थियो । जसअनुसार मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ कायम भएको थियो ।
कृषिमा बढेको लागत, किसानका सुझाव र बजार मूल्यवृद्धिलाई आधार मानेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य बढाएर तोकिएको हो । किसानले उत्पादन गरेको धान बिक्री नभएको स्थितिमा सरकारले यो मूल्यमा धान खरिद गर्नेछ ।