नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ। यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवआती दिनको रुपमा लिइन्छ। यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ। यस वर्ष “जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो। यस दिनलाई रोपाईं महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी धान दिवस मनाइन्छ।

सन् २००४ मा संयुक्त राष्ट्रय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो। त्यसै गरी नेपालमा पनि कृषि प्रधान मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो।

सरकारी तथ्याअनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ। सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधि र सिप आम किसान माझ अझ पुग्न नसकेका कारण खेती योग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाइ छ।

नेपाली संस्कृतिअनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ। खेतमा रोपार्इं गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ।

वर्षा याममा हिलाम्य भएको शरीरमा दही खाँदा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन्।

यस दिन अधिकांश नेपालीहरू दही चिउरा खान्छन्। दहीको महत्व धेरै छ। यस दिन अरू दिनको तुलनामा धेरै दही खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहीको जोहो गरेर राख्छन्। दही नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै दही खरिद गरी राख्छन्। यस दिन बेलुकापख डेरी पसलहरूमा दही अपुग हुन्छ।

यस दिन मानिसहरू दही चिउरामा केरा र आँप पनि मिसाएर खान्छन्। गाउँघरमा पनि सबैले घर घरमा आफैँले दही जमाएर खान्छन्। सहरी क्षेत्रमा कसै कसैले आफैं जमाए पनि धेरै जसोले भने किनेरै खाने चलन छ। आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइँ महोत्सव भनेर विगत १७ वर्षदेखि मनाउँदै आइएको छ। यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको सङ्ख्या पनि बढ्ने गरेको छ।

आजभोलि विद्यालयका विद्याथीहरूलाई पनि दही चिउरा खुवाउने र रोपाइँमा सहभागी गराउने गरिएको छ। यो राम्रो पक्ष हो। पहिले पहिले बाजा बजाएर नाचगान गर्दै रोपाइँ गर्ने चलन थियो। त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो। त्यस्तो चलन धेरै खेती हुने जमिनदारहरुकोमा हुने गर्दथ्यो। तर, आजभोलि यो चलन हट्दै गएको छ। अब यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रा परम्परा लोप हुँदै जान्छन्। अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धीमुलक बनाउन सक्नुपर्छ। यसले हाम्रो जस्तो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ।

हामीले कति पटक धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ। तर उपलब्धी के भयो भन्ने कुराले ठूलो महत्व राख्छ। हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो। तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्र भएर पनि धान आयात गर्दैछौं। यो दुःखद कुरा हो। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौँ युवा विदेसिने अनि हामीले यस्ता देखावटी कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुँदैन। अब विदेसिएका युवाहरूलाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्ने कुरातिर हामी लाग्न आवश्यक छ।

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्रमध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो। अहिले हामी करीब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न सक्ने भएका छौँ। यस्तो अवस्थामा हामी अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक भइसक्यो । त्यसैले हामी सबैजनाले नेपाल कृषि प्रधान देश हो भन्ने जुन नाम छ त्यसलाई बचाउन लागौँ र कृषि क्षेत्रको विकास नभई अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने मुख्य कुरा बुझी अगाडि बढौँ। त्यसैले हामी जसरी भए पनि कृषिका उपजहरू आयात रोकी अब निर्याततर्फ लाग्न ढिला भइसकेको छ। हामी सबैलाई यस वर्षको असार १५ गतेले यही शक्ति प्रदान गरोस्। सबैमा हार्दिक शुभकामना !

यस्ता छन् दही सेवनका फाइदा :
दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोलेबिन, भिटामिन बी जस्ता पोषक महत्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।