ललितपुर। कोदो बालीको महत्त्व स्थापित गराउन सफल विख्यात भारतीय कृषि वैज्ञानिक डा. खादर वलीले नेपाली कृषिविज्ञ तथा किसानहरूसँग रैथाने कोदो बालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरक्रिया गर्ने भएका छन्।

रैथाने एग्रि प्रोडक्ट्स नेपाल, नेपाल आयुर्वेद चिकित्सक संघ र राष्ट्रिय कृषक समूह महासंघको संयुक्त आयोजनामा हुन लागेको छलफलमा कोदोको उत्पादन, खाद्य परिकार, पौष्टिकता तथा अतुलनीय औषधीय गुणको बारेमा छलफल हुने राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ।

कोदोजन्य बाली रक्तअल्पता लगायत कुपोषण घटाउन उपयोगी मानिन्छ। जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने कोदोलाई राष्ट्रिय महत्त्वको बालीका रूपमा स्थापित गराउन उक्त संवाद कार्यक्रम गर्न लागेको महासंघले जनाएको छ। २०८० चैत १७ गते शुक्रबार आयोजना हुन लागेको कार्यक्रम काठमाडौंको बत्तिसपुतली स्थित अनुपम बैंक्वयटमा हुनेछ ।