ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि आयोजना गरिएको ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ को विजेता घोषित गरिएको छ । जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा क्रियाशिल संस्थ वेव्स ईन नौका प्रा.लि. र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको प्रतियोगिताको पाँचजना विजेतालाई पुरस्कारसहित सम्मान गरिएको हो। जुनार खेति तथा कृषि उत्सव २०८० लाई लक्षित गरि ३० दिने अनलाईन भिडियो प्रतियोगिता आयोजना गरिएको थियो ।

वागमती प्रदेश कृषि तथा पशुपन्छीं विकास मन्त्री राजेन्द्र मान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खाद्य तथा कृषि संगठनको कार्यक्रम विज्ञ अरुण जीसी, हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर लामा, कृषि ज्ञान केन्द्रका प्रमुख लगायत सरोकारवालाहरु उपस्थीत रहेका थिए ।

प्रतियोगितामा गोलन्जोर गाउँपालिका ४ का जुनार कृषक लोक बहादुर आले मगर, ग्वालटारको टमाटर कृषक सुमित्रा श्रेष्ठ, हरिहरपुरगढी ३ का कागती कृषक ओकिल बहादुर कुनवार क्षेत्री, दुधौली नगरपालिका १० कि च्याउ कृषक चाहाना श्रेष्ठ र हरिहरपुरगढीको कागती कृषक विष्णु लाल घलान विजेता भएका छन् ।

प्रतियोगितामा सिन्धुलीको नौँ वटा स्थानिय तहबाट ४४ जनाले प्रतिस्पर्धा गरेको नौकाका प्रमुख कार्यकारी अधिकृत पासाङ स्याङतानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रि डा. राजेन्द्रमान श्रेष्ठले वितरण गर्नुभएको थियो । कृषि क्षेत्रमा युवाहरुको सहभागीता बढाउने उदेश्यले कार्यक्रम गरिएको सिईओ स्याङतानले बताउनुभयो ।