पोखरा । पोखरामा यही पुस २० गतेदेखि आयोजना हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा कृषि ओैजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री गरिने मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रदर्शनीमा कृषि औजार, उपकरण, प्रविधि उत्पादक उद्यमी व्यवसायीहरू, आयातकर्ता, वितरक, डिलर, सबडिलर, सरकारी एवं गैरसरकारी संघ संस्थाहरू, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरू, अनुसन्धान संस्थाहरू सेवा प्रदायक कृषि कृषक समूह, सहकारी संघ संस्थाहरू, बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहने छ ।

प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामूलक स्टलहरू रहने नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिब ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

प्रदर्शनीमा करिब १० प्रतिशत छुट सहित ५ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, रैथाने बालीहरूको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, कृषि जैविक विविधता संरक्षण सम्बन्धी छलफल अन्तरक्रिया हुने भएको छ ।

‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेशिकस्तरीय कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रर्दशनी हुन लागेको हो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार यो प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले सह आयोजकको रुपमा सघाएका छन् ।

त्यसैगरी ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआईपी) र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारले पनि सहकार्य गरेको छ । एक्सपोको प्रवद्र्धन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गर्ने भएको छ ।