ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ । एशोसिएसनले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी १६ औँ संस्करणको गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्ने भएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका हुने उक्त प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन हुनेछ । पुष्प विकास केन्द्र सह-आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पुर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रायोजन गरेको छ । यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एशोसिएनसले जनाएको छ ।

करोड बढीको कारोबार लक्ष्य :

प्रदर्शनीमा व्यवसायिक स्टल ५५ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ५ गरी जम्मा ६२ वटा प्रदर्शनी कक्षहरू रहने छन् । गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको एशोसिएनका उपाध्यक्ष तथा मेलाका संयोजक सीताराम पन्तले बताए । गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।