गोठेमलको परिचयः

गाईवस्तुको मलमूत्र, घाँसपातहरु, सोत्तर तथा अन्य झारपातहरु गोठको नजिकै बनाईएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल हो । नेपालमा जैविक मलको मुख्य स्रोतका रुपमा यसको मलको प्रयोग गरिन्छ ।

गोठेमलका फाइदाहरुः

  • स्थानीय स्रोतहरू (गोबर, मुत्र, सोत्तर तथा झारपात) आदिको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि थप खर्च लाग्दैन, साथै रासायनिक मलमाथिको निर्भरता हटाउन सकिन्छ।
  • बिरुवालाई आवश्यक पर्ने सबै खाद्यतत्वहरू थोरै मात्रामा भए पनि माटोमा थपिन्छन् र बिरुवालाई लामो समयसम्म उपलब्ध गराउँछन् जुन रासायनिक मलबाट सम्भव छैन।
  • माटोको बनोट तथा माटोको संरचनामा सुधार ल्याउँछ।
  • माटो खुकुलो र बुरबुराउँदो पार्दछ।
  • माटोमा पानी अड्न सक्ने क्षमता वा पानी धारण गरिरहन सक्ने क्षमता (water holding capacity) बढाउँछ।
  • माटोमा सूक्ष्म जैविक क्रियाकलाप बढाउँछ जसले माटोको गुणस्तरमा वृद्धि गर्न मद्दत गर्दछ।
  • गाईवस्तुको गोबर मूत्रसँग पंक्षीको मल मिसाएर प्रांगारिक मल बनाउँदा तिनीहरूले बिरुवाहरूको लागि चाहिने खाद्यतत्वहरूको सन्तुलित श्रोत बन्छ ।

 गोठेमल बनाउँदा अपनाउनुपर्ने विधिः

गाठेमल बनाउँदा गाईवस्तुका गोबर, मुत्र र सोत्तरलाई राम्रो र सुरक्षित तरिकाले विघटित गराउन पकाउन आवश्यक छ ।यसका लागि गोठ तथा खाडलको राम्रो व्यवस्था हुनु जरुरी छ । राम्रो गोठेमल बनाउँन निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छः-

  • गाईवस्तुको मुत्र पूर्णरूपले सदुपयोग गर्नका लागि अधिकतम मात्रामा सोत्तरको व्यवस्था गर्नु पर्दछ ।सोत्तर पर्याप्त नभएमा भकारोको नजिक मुत्र सङ्कलन गर्ने सानो खाडल वा टंकी बनाई कुलेसोद्वारा मुत्र सङ्कलन गरी सिधै बिरुवामा प्रयोग गर्न वा संकलित मुत्रलाई गोठेमलमा लगेर मिसाउन पनि सकिन्छ।

मूत्र संकलन गर्ने खाडलको व्यवस्था

  •  खाडल खन्न नमिल्ने अवस्थामा ढुङ्गाको पर्खाल, काठपात र स्याउलाले बारेर मललाई जमिनमै थुपारेर राख्न पनि सकिन्छ । यसो गर्दा मललाई घाम पानीबाट जोगाई राख्न सकिन्छ जुन सबभन्दा महत्वपूर्ण कुरा हो ।

खाडलको वैकल्पिक उपाय

  • मल राम्रोसँग विघटन नहुनु प्रमुख समस्या भएको हुँदा गोबरमललाई खाडलमा राम्रोसँग मिलाई राख्नु पर्दछ ।
  • खाडल वा थुप्रोमा गोठेमल थुपार्दै जानुपर्दछ । हरेक हप्ता चुली लागेको मललाई फिँजाएर मिलाउनु पर्दछ ।

चुलिएको गोबरमललाई फिँजाइएको

  • मललाई छानो दिएर घाम–पानीबाट जोगाउनु पर्दछ । फोटो) छानो दिन नसक्ने अवस्थामा खाडल वा थुप्रो पुरै भरिएपछि सकेसम्म स्याउला वा झारपातले भएपनि मललाई अनिवार्य छोपेर राख्नु पर्दछ ।
  • खाडल वा थुप्रोमा पानीको भल पस्न दिनु हुँदैन ।

मल खडालमा पानी वा भल पस्न नदिन चारैतिरबाट आलीको व्यवस्था

गाईवस्तुलाई घाम तपाउन र नल–पराल बारीमै खुवाउन हिउँद याममा प्रायजसो कृषकहरूले बारीमा गोठ सार्ने गर्दछन । यसो गर्दा मल बारीमा सुकेर नष्ट हुन्छ । यस्तो अवस्थामा बढी मात्रामा सोत्तर प्रयोग गरी मुत्र सोस्ने व्यवस्था मिलाई मललाई खाडलमा राख्नुपर्दछ । खाडलमा राख्न नसक्ने अवस्थामा झारपातले छोपेर राख्नु पर्दछ । एकै ठाउँमा धेरै दिनसम्म पशुहरू बाँध्दा मल मुत्र राम्रोसँग वितरण हुन पाउँदैन भने एक ठाउँमा मल बढ्ता भएर उत्पादनमा असर पार्न सक्छ भने अर्को ठाउँमा मल नपुगेर उत्पादन घट्न जान्छ ।

भकारो सुधार भनेको के हो ?

गोठेमलको सुधार गर्नका लागी पाल्तु जनावरहरु जस्तै गाई, भैसी, सुँगुर आदि बस्ने गरी बनाइएको परम्परागत गोठलाई सुधार गरि पशुहरु बस्न सजिलो तथा आराम हुने र गोबर तथा मुत्र संकलन गरि उपयोग गर्न सजिलो हुने गरि गोठ वा भकारोको संरचना सुधार गर्नुलाई भकारो सुधार भनिन्छ।

भकारो सुधार किन गर्ने?

गाईबस्तुको पिसाब (मुत्र) मा गोबरमा भन्दा बढी नाइट्रोजन हुन्छ, जुन धरैजसो नोक्सान हुने गर्दछ । एउटा पशुले खाएको घाँसपात वा दानामा रहेको १०० भाग नाइट्रोजन मध्ये २० भाग मात्र पशुको पोषणमा प्रयोग हुने गर्दछ भने बाकी ८० भाग नाइट्रोजन मल र मुत्रबाट निस्कन्छ। जसमध्ये २८ भाग गोबरबाट र ५२ भाग मुत्रबाट निस्कन्छ यसकारण नाइट्रोजनको मात्राको हिसाबमा मुत्रको महत्व धेरै हुन्छ । यसैगरि ६१ देखि ८७ प्रतिशत फस्फोरस र ८२ देखि ९२ प्रतिशत पोटास तत्व गोबर र मुत्र बाट बाहिर निस्कन्छ। यी बाहेक बिरुवालाई आवश्यक पर्ने अन्य सहायक तथा सुक्ष्म खाद्य तत्वहरु पनि गोबर र मुत्र बाट बाहिर निस्कन्छ । त्यसैले गोबर र मुत्रको संकलन तथा संरक्षण गरि यसबाट बिरुवालाई चाहिने खाद्य तत्वको सदुपयोग गर्न सकिन्छ । गोबर र गहुँतको सदुपयोग र संरक्षण नै गोठेमलको गुणस्तरमा वृद्दि ल्याउन सकिने मुख्य विकल्प हो । त्यस्तै भकारोको सुधार गर्दा गाईवस्तु बस्न, घाँस खान, दाना पानी खुवाउन सजिलो पनि हुन्छ र रोगब्याधि कम हुने साथै दुध उत्पादन बढ्ने हुन्छ ।

भकारो सुधार कसरी गर्ने ?

भकारो सुधार गर्नुको महत्वपूर्ण पक्ष भनेको खेर गइरहेको गहुँतको सङ्कलन गर्नु हो । गहुँतको सङ्कलनका लागि कृषकको आम्दानी तथा क्षमताका आधारमा हालको गोठलाई सुधार गरी मुत्रलाई बचाउन सकिन्छ । चाम्रो माटोले भकारोलाई राम्ररी खादेर मुत्र सङ्कलन गर्ने नली र खाल्डो बनाई मुत्र सङ्कलन गर्न पनि सकिन्छ । यदि क्षमताले भ्याउँछ भने भुईं ढलान गरी पिसाब बगेर जाने नाली बनाई ट्याङ्कीमा लगेर मुत्रलाई सङ्कलन गर्न सकिन्छ ।

गाईवस्तुको गहुँत वा पशुमुत्र प्रयोग गर्ने तरिका

क) १ भाग गाईवस्तुको मूत्रलाई विरुवाको अवस्थानुसार ४ देखि ८ भाग पानीमा मिसाएर बाली विरुवामा युरिया मलको सट्टा प्रयोग गर्ने ।

ख) पशु मुत्रलाई गोबरग्याँस प्लाण्टमा प्रयोग गर्दा ग्याँस उत्पादन बढ्नुका साथै मलको गुणस्तर समेत बढ्ने ।

ग) संकलित पशु मुत्रलाई प्लाष्टिक भाँडोमा राखी अमिलो, टर्रो, तीतो, पिरो वनस्पतिहरू (असुरो, तितेपाती, नीम, बकाइनो, बोझो, केतुके, सिस्नु, सयपत्री, बनमारा, आदि) २५ देखि ३५ दिन कुहाई बनाइएको झोललाई विरुवाको अवस्था अनुसार १ भागमा ५-१० भाग पानी मिसाई वानस्पतिक विषादीको रुपमा प्रयोग गर्न सकिने जसबाट रोगकीरा व्यवस्थापन हुनुका साथै विरुवालाई चाहिने केही पोषक तत्व पनि प्राप्त हुन सक्ने ।

घ) पशुमूत्रलाई पानीमा मिसाई थोपा सिँचाइको रुपमा युरिया मलको सट्टा टपड्रेस गर्न सकिने ।

ङ) टंकी वा ड्रममा पानी र पिसाब मिसाई पाइपद्वारा सिंचाइ गर्न सकिने

कहिलेकाहीँ किसानहरूले ताजा पिसाब पनि प्रयोग गर्ने गरेको पाइन्छ । ताजा पिसाबभन्दा बासी (कुहाएको) पिसाब बढी प्रभावकारी पाइएको छ । ताजा पिसाबले बाली डढ्ने पनि हुन्छ ।

गोठेमल सुधार, पशुमूत्र सङ्कलन र बालीमा प्रयोगको एउटा नमुना

गोठेमल व्यवस्थापनका कमजोरीहरूः

१) पशु मुत्रको सदुपयोग नहुनु,

२) घामपानीबाट मलको गुणस्तरमा क्षति हुनु,

३) राम्रोसँग नपाकेको वा विघटन नभएको मलको प्रयोग हुनु,

४) खेतबारीमा मल लैजानुअघि सुकाउने गरिनु,

५) खेतबारीमा पुर्याएपछि पनि मल लामो समयसम्म त्यसै छोड्नु वा घाममा सुक्न दिनु ,

६) गाईबस्तु छाडा छोड्नु ।

गोठेमल सुधारका लागि अपनाउन सकिने तरिकाहरू

१) गोबर, सोत्तर, मुत्रलाई खाडल, अर्धखाडल वा थुप्रोमा जम्मा गरी यसलाई घामबाट बचाउने ।

२) वर्षाको पानी, भलपानी र बलेनीबाट बचाउने ।

३)पशुमुत्र वा गहुँतको राम्ररी सदुपयोग गर्ने ।

४) खाडल वा खातबाट निकालेपछि मललाई नसुकाई सीधै खेतबारीमा पुर्याउने ।

५) खेतबारीमा पुर्याएपछि घाममा सुक्न नदिने ।त्यसका लागि तुरुन्तै फिजाउने र जोतेर माटोमा मिलाई हाल्ने ।यदि माटोमा तुरुन्तै मिलाई हाल्न नसक्ने भएमा सो मललाई घामबाट बचाउन कल्लाको आडमा ठूल-ठूला थुप्राहरु बनाई राख्ने र स्याउला, झारपात वा धुलो माटोले छोपी राख्ने ।

   

गोठेमललाई छानो र बार बन्देज गरिएको राम्रो नमुना (बायाँ) र डोबिल्कामा मूत्र सङ्कलन गर्ने सानो प्रयास गरिएको (दायाँ)

   

गोठेमललाई घाम, भलपानी र बलेनीबाट बचाउन छानो र बार बन्देजको व्यवस्था गरिएको

   

मल खेतबारीमा ठूला थुप्रोमा राखी माटोले छोपेको (बायाँ) र जोत्ने दिनमा गोठेमल लगी मल छर्ने र जोत्ने काम एकैचोटि गरेको (दायाँ)

मल छिटो तयार गर्ने तरिका

मध्य तथा उच्च पहाडी क्षेत्रमा चिसो हावापानीका कारण गोठेमल राम्ररी विघटन हुन वा पाक्न बढी समय लाग्ने हुँदा नपाकेको मल प्रयोग गर्ने व्यापक चलन छ । यसो गर्नाले बालीलाई खाद्यतत्व ढिलो उपलब्ध हुने र खुम्रे तथा रातो कमिला जस्ता माटोमा बसेर दुःख दिने कीराहरूको समस्या पनि बढ्ने हुन्छ । तसर्थ, राम्ररी पाकेको मल मात्र प्रयोग गर्नुपर्दछ । मल राम्ररी कुहिन नसक्ने कारणहरूमा बढी चिसो हावापानी, कुहिन बढी समय लाग्ने कडा वनस्पतिहरू (जस्तैः मकैको ढोड, सल्लो, बाँझ, कटुस, चिलाउने आदि)को पात सोत्तरका रूपमा प्रयोग गर्नु, मल बनाउनका लागि उपयुक्त थुप्रो वा खाल्डोको प्रयोग नगरी मल यत्रतत्र छरिन दिनु, वर्षायाम बाहेकको ६\७  महिनासम्म मल (गोबर, स्याउला, सोत्तर आदि) बढी सुख्खा हुनु र विघटन हुनका लागि आवश्यक चिस्यान नपाउनु आदि मुख्य हुन् ।

यसका लागि माथि उल्लिखित उपायहरू अपनाउनुका साथै गोबर तथा स्याउला सोत्तर छिटो कुहाई गोठेमल छिटो तयार गर्नका लागि मुख्यतया दुई कुरामा ध्यान दिनुपर्छ ।

पहिलो- गोठेमलको थुप्रोलाई कालो प्लास्टिकले राम्ररी छोप्ने

दोस्रो- Effective Micro-organism अर्थात् प्रभावकारी सूक्ष्म जीवाणु प्रयोग गर्ने

यी दुई उपाय मध्ये दुवै वा कुनै एउटा प्रयोग गर्न सकिन्छ। यी उपायहरू अपनाउँदा भने गोबर तथा स्याउला सोत्तरमा आवश्यक चिस्यान हुनुपर्दछ। चिस्यान कमभएमा मलको थुप्रो वा खाडलमा आवश्यकता अनुसार पानी हाल्नुपर्ने हुन्छ।

अन्त्यमा, प्राचिनकाल देखिनै गोठेमललाई त्यति महत्व नदिइएको र यसलाई जथाभाबी राख्ने, यसमा भएका खाद्यतत्वहरुको संरक्षण एवं सदुपयोगको ज्ञान, सिप अभाबका कारण नेपालले एकातिर बर्सेनी करौडौं मूल्य बराबरको नाइट्रोजन मल गुमाइरहेको छ भने अर्कोतिर अबौं रुपैया रासायानिक मल युरीया मल खरिदमा बिदेश गइरहेको अवस्था छ।त्यस्तै रासायनिक बिषादी तथा मलको जथाभावी प्रयोगले माटोको गुणस्तरमा समेत ह्रास ल्याएको छ भने वातावरणमा पनि प्रतिकुल असर देखा पर्न थालेको छ। अतः कृषिजन्य खेतीमा गोठेमलको महत्व कृषकलाई बुझाइ यसको सुधार गरेर प्रयोग गर्नु अति आबश्यक छ।