मोरङ। मोरङको बेलबारीस्थित एक बंगुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फार्मका बंगु मर्न थालेपछि नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

बेलबारी–४ स्थित ठूली एकीकृत कृषि फार्ममा पालिएका बंगुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फार्मका सञ्चालक धीरेन लिम्बूले बताए ।

“केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो,” उनले भने ।

वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए ।

छेउमै रहेका बाख्रा फार्म र माछापोखरीमा भने उक्त रोगको असर नदेखिएको जनाइएको छ । उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फार्म सञ्चालन गर्दै आएका छन् ।

बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, “अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षणका लागि विराटनगर हुँदै काठमाडौं पठाइएको छ ।”

रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुन सक्ने तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउन्जेल यकिन भन्न नसकिने उनले बताए ।
रासस