नेपालगञ्ज। बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तललगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । निकुञ्जको सीमामा रहेका राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी नभएकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकार दिनुभयो ।

“बिहान वा बेलुकाको समयमा वन्यजन्तु पानी खान तछाडमछाड गरेको दृश्य देख्न सकिन्छ”, उहाँले रासससँग कुरा गर्दै भन्नुभयो । उहाँले सुक्खा समयमा चुरेको घाँसे मैदान आसपासमा सामान्य पानी रहने र वन्यजन्तुलाई पानीको अभाव हुने भएकाले प्रत्येक वर्ष करिब चार पोखरी निर्माण गर्ने योजनाअनुसार ती पानी पोखरी बनाइएको बताउनुभयो ।

“सोलार जडित बोरिङबाट निरन्तर पानी आइरहन्छ र त्यसबाट आहार खाने विभिन्न प्रजातिका वन्यजन्तु पोखरीमा आएर प्यास मेटछन्”, प्रमुख संरक्षण अधिकृत शाह भन्नुहुन्छ । निकुञ्जभित्र विभिन्न ठाउँका १० स्थानमा सोलार जडित पोखरी निर्माण भएका छन । यसलाई निकुञ्जको भूगोलअनुसार अझ बढाएर सघनरुपमा चार सय ५० पानी पोखरी निर्माण गर्ने योजना रहेको निकुञ्ज प्रशासनले जनाएको छ । सीमसार क्षेत्रमा पानी भइरहने पोखरी चार स्थानमा रहेको छ । निकुञ्जभित्र खनेर बनाइएको ८० पोखरी छ जहाँ सुक्खायामा पानी हुँदैन जसका कारण वन्यजन्तुलाई पानीको अभाव हुने गर्छ ।

कतिपय ठाउँमा ३० मिटरमा पनि पानी आएको छ भने कतिपय ठाउँमा ६० मिटरमा पनि पानी नआएको उल्लेख गर्दै अधिकृत शाहले सोलार जडित पोखरी निर्माणका लागि रु १० लाख खर्च हुने जानकारी दिनुभयो । शाहले पोखरी निर्माणसँगै वन्यजन्तुका आहारका लागि घाँसे मैदानसमेत बनाउँदै जाने जानकारी दिँदै वन्यजतुको सङ्ख्या, प्रकार र विविधतालाई संरक्षण गर्ने योजनाअनुसारका काम भइरहेको बताउनुभयो ।

निकुञ्जभित्र प्रत्येक दुई किलोमिटरको ग्रिडभित्र बाघको अनुगमन र गणना गर्ने काम भएको छ । प्रत्येक ग्रिडमा एउटा पानी पोखरी, घाँसे मैदानको संयोजन गर्नसके वन्यजन्तुलाई लुक्ने स्थानको समेत विकास भएपछि वन्यजन्तु ग्रिड बाहिर जान नरुचाउने र उसमा कुनै विचलन नआउने उहाँ बताउनुहुन्छ ।

“यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व चुनौतीको रुपमा रहेको छ, त्यसलाई पनि सम्वोधन गर्ने छ”, शाहले भन्नुभयो । वन्यजन्तुका लागि चाहिने विषय भनेकै आहारा, पानी र लुक्ने स्थान हो । वन्यजन्तुको लागि झाडी र जङ्गल क्षेत्रको विकास गर्नसके त्यसले वन्यजन्तु बाहिर जाने अवस्था नहुने बताइएको छ । निकुञ्जभित्र घासे मैदान २० स्थानमा रहेको छ । बाघलगायतका वन्यजन्तुको संरक्षण गर्ने र पर्यापर्यटनलाई जोड्ने विषयलाई प्राथमिकतामा पारेकाले पोखरी निर्माण कार्य बजेटअनुसार बर्सेनि हुने निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

उक्त निकुञ्ज जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, एक सय चार वनस्पति, ३२ प्रजातिका स्तनधारी, तीन सयभन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् । बाघको सङ्ख्या अहिले २५ रहेको छ । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमै दुर्लभ चरा रेकर्ड गरिएको बताइएको छ ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले विसं २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको पाँचसय ५० वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।
रासस