तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारको रू चार करोड ९० लाख लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीका साइट इञ्जिनियर शिव सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत रू १० करोड लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपन्छीको उपचार गर्नेछन् । भवनको भुई तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्रविधिक जनशक्तिको व्यवस्था गरिने छ ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता राखिएको उहाँले बताउनुभयो । “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कम गरी किसानको आम्दानी बढाउन सकिन्छ”, श्रेष्ठले भन्नुभयो ।
रासस