ताप्लेजुङ। गत वर्ष आयोजना भएका औद्योगिक मेलापछि उद्योगी व्यवसायीबाट राम्रो प्रतिक्रिया पाएपछि घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले यस वर्ष पनि मेला आयोजना गरेको छ । सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ । मेलामा यस वर्ष कोशी प्रदेशका विभिन्न जिल्लाका उद्यमी एकैठाउँमा जम्मा भएका छन् । सबैले आफ्ना उत्पादन ल्याएर प्रदर्शनसहित बिक्री गरिरहेका छन् ।

पाँचथरको मिक्लाजुङ–१ बाट अघिल्लो वर्ष किबी, गुराँसका जुस, अचारलगायतका उत्पादन लिएर आउनुभएकी जुनु लावती यस वर्ष पनि मेलामा विभिन्न उत्पादन बोकेर आउनुभएको छ । “औद्योगिक मेला महोत्सवले हामी साना उद्योगी व्यवसायीलाई फाइदा भएको छ, पहिले यसरी मेला महोत्सव खासै हुँदैनथे, आजभोली समय–समयमा हुने मेला महोत्सवले उत्साह मिलेको छ”, उहाँले भन्नुभयो । सबै क्षेत्रका उद्योगी, व्यवसायी र ग्राहकसँग सम्बन्ध विस्तार गर्न मेला तथा महोत्सवले सहयोग पुगेको लावतीले बताउनुभयो । उद्योग मेलामा भएको प्रदर्शनले टाढा–टाढाका ग्राहक जोडिने र समय–समयमा माग आइरहन्छ ।

झापाको भद्रपुरबाट हस्तकलाका सामान लिएर आउनुभएकी गीता शाक्यले उद्योग मेलाबाट थप प्रेरणा र हौसला मिल्ने गरेको बताउनुभयो । “हामी उत्पादन लिएर विभिन्न जिल्लामा आयोजना भएका उद्योग मेलामा पुगेका छौँ, यसले नवीनतम् उत्पादन र सोचको विकासमा सहयोग पुग्यो, समय–समयमा हुने उद्योग मेलाले थप प्रेरणा र हौसला मिलेको छ”, उहाँले भन्नुभयो । बाँस र काठबाट बनेका हस्तकलाका सामग्री विदेशमा समेत निर्यात गर्न थालेको शाक्यले बताउनुभयो । अष्ट्रेलिया, अमेरिकालगायत देशमा उत्पादन पठाउने गरेको उहाँले बताउनुभयो । विसं २०६१ देखि उद्योग सञ्चालन गर्नुभएकी शाक्यले आफ्नो उद्योगमा चार जनालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

सदरमुकाम फुङ्लिङकी माया गुरुङ पनि अलैँचीबाट निर्मित विभिन्न घरायसी प्रयोगका सामानसहित मेलामा आउनुभएको छ । उद्योगबाट महिनौँ दिनमा बिक्री हुने सामान मेला महोत्सवमा एकै दिनमा बिक्री हुने गरेको उहाँको अनुभव छ । देश–विदेशका उद्योग मेलामा पुगिसक्नुभएकी गुरुङ भन्नुहुन्छ, “उद्योग मेलाले उद्यमीलाई ठूलो मद्दत पुग्ने रहेछ, सबै ठाउँका उद्यमी र ग्राहकलाई मेलाले एकापसमा जोड्ने रहेछ, जसले नयाँ सिर्जना र बजारीकरणमा सहयोग मिल्नुका साथै उत्साह प्रदान गर्छ ।”

तेह्रथुमको म्याङ्लुङकी विमला केरुङले पछिल्लो समय आयोजना हुने गरेका उद्योग मेला–महोत्सवले फाइदा पुगेको बताउनुभयो । यसबाट बजारीकरणमा मद्दत पुग्ने गरेको उहाँको भनाइ छ । उद्योग मेलामा कृषि उत्पादनको समेत प्रदर्शनी राख्दा किसानलाई फाइदा पुग्ने गरेको छ । प्रदर्शनीले नयाँ ग्राहक जोड्ने र ज्ञान सीपको आदान–प्रदान हुने गरेको स्थानीय भीम गुरुङले बताउनुभयो ।

“कृषि प्रदर्शनीले ज्ञान, सीप आदान–प्रदान गर्ने वातावरण बनाउँछ, कृषकबीच सम्बन्ध विस्तार गर्ने रहेछ, सरोकारवाला व्यक्ति तथा सङ्घसस्थासँग सम्बन्ध जोडिने र यसले किसानलाई आवश्यक सहयोग पुग्ने देखियो”, उहाँले भन्नुभयो । प्रायः बाहिरबाट आयात हुने कृषि उत्पादनको उपभोग गर्दै आएका उपभोक्ताले समेत स्थानीय उत्पादनका बारेमा जानकारी पाउने भएकाले कृषि उत्पादनको बजारीकरण थप फराकिलो हुँदै जाने गुरुङले बताउनुभयो ।

उद्योग मेलाले उद्यमी बन्ने अवसर खोजिरहेकालाई समेत सहयोग पुग्ने गरेको पाइएको छ । उद्योग मेला तथा महोत्सवमा स्थापित उद्योगी व्यवसायीको ज्ञान, सीप र अनुभवसमेत लिन पाइने भएकाले यसले नयाँ सोच भएकालाई फाइदा पुग्ने उद्यमी विष्णु श्रेष्ठले बताउनुभयो । “हामीकहाँ थुप्रै व्यक्ति कसरी उद्यमी बन्ने भन्ने चासो लिएर बुझ्न आउने गर्नुहुन्छ, सीप कहाँ सिक्ने, कसरी उद्योग स्थापना गर्नेजस्ता जिज्ञासा लिएर आएकालाई जानेसम्मका कुरा भनेर पठाइदिन्छौँ”, श्रेष्ठले भन्नुभयो । मेलामा व्यावसायिक ज्ञान, सीपको आदान–प्रदान हुने भएकाले बेरोजगार भएर बसिरहेकालाई प्रेरणा मिल्ने उहाँले दाबी गर्नुभयो ।

यस्तै स्थानीय कच्चा पदार्थको अधिकतम् उपयोग गरी रोजगारी सिर्जना गर्न र सर्वसाधरणलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जति उद्यमी सिर्जना गर्न सकियो उति नै बेरोजगार घट्ने र मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् । यहाँ आयोजित उद्योग मेलाको उद्घाटनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री प्रतापप्रकाश हाङ्गामले सर्वसाधारणलाई सफल उद्यमी बनाउन राज्यले ज्ञान, सीपसहित अनुदान दिनुपर्ने बताउनुभयो । ज्ञान, सीप र प्रविधिसहितको सहयोग गरेर राज्यले बजारीकरणमा समेत सहयोग गर्न सके स्थानीय कच्चा पदार्थको उपयोग, रोजगारी सिर्जना हुनुका साथै आर्थिक सङ्कटजस्ता समस्याको समाधान हुने उहाँले बताउनुभयो ।

यस्तै नयाँ प्रविधि र बजारीकरणमा राज्यले थप सहयोग पु¥याउन आवश्यक भएको उद्योगी व्यवसायीले बताएका छन् । पुरानै प्रविधिको प्रयोगले उत्पादनमा लागत बढ्ने, बजारमा आएका उस्तै उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिनेजस्ता समस्या भएको उनीहरूले बताए । यहाँ आयोजित औद्योगिक कृषि मेला यही चैत २५ गतेसम्म चल्नेछ । मेलामा पाँचथर, तेह्रथुम, धनकुटा, झापा, इलामलगायत जिल्लाका उद्यमी तथा व्यवसायी सहभागी छन् ।
रासस