जाजरकोट।   शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ ।

पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ ।

सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गीता शाहीले बताउनुभयो ।

असार मसान्तसम्म सडक निर्माण कार्य पूरा हुने उपाध्यक्ष शाहीले बताउनुभयो । आर्थिक रुपमा बलियो बनाइ गाउँपालिकाको कृषि क्षेत्रलाई अत्यधिक रुपमा उन्नत बनाउन काम भइरहेको बताइएको छ । गाउँपालिकाको वडा नं ३ को घोडेछाल, वडा नं ५ को काउला, वडा नं ७ को भिउसमा दात्ते ओखरको पकेट क्षेत्र बनाएर काम भइरहेको कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाको वडा नं १ को सिस्ने, वडा नं ५ को मन्देराटोल र वडा नं ८ को लिसपानीमा भटमासको पकेट क्षेत्र बनाइ भटमास उत्पादनलाई जोड दिइएको छ । यहाँ उत्पादित भटमासको बजारीकरणको काम समेत पालिकाले गरेको उहाँले बताउनुभयो ।

केही वर्षअघि बाहिरी जिल्लाबाट बीउ आयात गरेर मकै रोप्ने यहाँका कृषकलाई अहिले तीन वर्षदेखि कृषि शाखाकै पहलमा गाउँपालिकाको वडा नं ३ स्थित सीमामा मकैको मूल बीउ उत्पादन गरी मूल बीउबाट उन्नत बीउ उत्पादनको काम सुरु गरिएको छ ।

यहाँ उत्पादित उन्तत बीउ बाहिरी जिल्लाबाट माग आएपछि बिक्रीसमेत गर्न सुरु भएको छ । मौसमी र बेमौसमी तरकारी बाली उत्पादन गर्न गाउँपालिकाको वडा नं २ मा लगानी गर्नुका साथै लगानीअनुसारको प्रतिफलसमेत आएको उहाँको भनाइ छ । शिवालय–३ घोडेछालमा यस वर्ष आलु उत्पादनका लागि शत प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।

त्यस्तै वडा नं ७ को जुङ्गा थापाचौरमा कन्ये च्याउ उत्पादनसमेत सुरु गरिएको छ । गाउँपालिका भरी खाद्यान्न उत्पादनका हिसाबले राम्रो मानिएको ठाउँमा कृषक समूहको मागमा आधारित हाते ट्याक्टर वितरणसमेत गरिएको छ । त्यस्तै कृषि शाखाकै पहलमा बेमौसमी तरकारी बालीको बीउसमेत वितरण हुँदै आएको छ ।
रासस