गलेश्वर। चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ ।लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन ।

गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् । मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयवासी बताउँछन् । धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्याल चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँसमा माघमै कोपिला लागेर मध्यफागुनसम्म आइपुग्दा जङ्गलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउनुहुन्छ । चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित बनाएको छ ।

अघिल्लो वर्ष चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको हो । पश्चिमी म्याग्दीको मालिका, मङ्गला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिकाका विभिन्न जङ्गलमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयवासीको भनाइ छ ।

लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीयवासी रमाउन थालेका छन् । कृषि प्राविधिक जगत बानियाँ मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो ।
यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

लालीगुराँससँगै रमाउन बढ्नथाले पर्यटक :

यसवर्ष साविकभन्दा पहिले नै लालीगुराँस फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यसवर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । यसैगरी जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका छन् । बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनामा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्हरुको भनाइ छ ।

“लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वेदप्रसाद उपाध्याय बताउनुहुन्छ । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेका र अन्नबालीमा समेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विक बताउनुहुन्छ । “अहिले बेमौसममै काफल, तिदुलगायत जङ्ली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ ।” वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उहाँ बताउनुहुन्छ।

उच्च हिमाली बस्तीमा पनि लामखुट्टे :

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भेगमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनकै कारण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने र परे पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुने भइरहेको छ । यसैगरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनकै कारण नयाँ नयाँ रोग देखिएका छन् । यसले विश्वकै लागि एक प्रमुख चुनौतीको विषय बनाएको र असर बढ्दै जाँदा नेपालका हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको छ ।

वायुमण्डलको तापक्रम, हावाको बहाव र बर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै पनि भागको मौसममा हुने परिवर्तन नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइडजस्ता ग्यास घटबढ भएमा जलवायु परिवर्तन हुने मौसमविज्ञहरु बताउँछन् । हाल पृथ्वीको वायुमण्डलमा कार्बनाडाइअक्साइड, नाइट्रोजन र मिथेनजस्ता ग्यासको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डल असन्तुलन भएर र हरितगृहको ग्यास बढ्न पुग्दा पनि जलवायु परिवर्तन हुन्छ ।जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थालेको चिकित्सक तथा वातावरण विज्ञ बताउँछन् ।रासस