
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट हेर्न सकिने कृषि प्राविधिक हरिगोपाल श्रेष्ठले जानकारीदिनुभयो । प्रणालीमा संस्थागत विवरण, कृषक विवरण, जग्गाको वर्गीकरण, सूचना र प्रकाशन गरेर विभिन्न शीर्षकमा विभाजन गरी सहज बनाइएको छ । सो प्रणाली निर्माणमा ड्रिमवर्क सोलुशनका कार्यक्रम व्यवस्थापक किरण बमनुले सहजीकरण गर्नुभएको थियो ।
उहाँले नगरपालिकालाई सो प्रणाली हस्तान्तरण समेत गर्नुभयो । अगामी दिनमा नगरपालिकाले कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिनुका साथै कृषि ऋणका लागि व्यावसायिक योजना निर्माण तथा विश्लेषणको कार्य सफ्टवेयरबाट सञ्चालन गरिने कृषि प्राविधिक श्रेष्ठले बताउनुभयो ।
गोदामघर शुभारम्भ :
मेलम्ची नगरपालिकाका प्रमुख तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्तरूपमा नगरपालिकासँगै रहेको गोदामघरको शुभारम्भ गर्नुभएको छ ।
भवन सञ्चालनमा आएसँगै अब लामो समयदेखि रहँदै आएको भण्डारणको समस्या अन्त्य हुने भएको छ । सो भवनबाट भण्डारणसहित स्वास्थ्य, कृषि र विपद् शाखाको सेवा पाइने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेश सरकारबाट विनियोजित रु. १९ लाख तीन हजार ३७ र आव २०७८/७९ मा आन्तरिक स्रोतबाट विनियोजित रु. ३८ लाख ७० हजार आठ सय लागतमा नगरपालिकाको कार्यालय नजिकै उक्त स्गोदामघर भवन निर्माण गरिएको हो ।रासस