तनहुँ। जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।

अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए ।

उनले गत वर्ष रु. ५५ लाखको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् । सुन्तला पाक्ने सिजनमा बगैँचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए ।

उनले गत वर्ष रु. ३० लाखको सुन्तला बिक्री गरेका थिए । उनले भने, “यसपटक छ/सात लाखको पनि कारोवार गर्न नसक्ने देखिएको छ ।” यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएको उनले बताए । उमाचोकमा करिब ४० जना कृषकले सुन्तलाखेती गर्दै आएका छन् ।

केही कृषकले सुन्तला बिक्री गरेको र केही किसानको सुन्तला नपाकेका कारण बगैँचामै रहेको किसानहरु बताउँछन् । गतवर्ष त्यस क्षेत्रका प्रत्येक कृषकले पाँचदेखि ८५ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । यस वर्षको सुन्तला उत्पादनले उनीहरुमा निरासा छाएको बताइएको छ । जिल्लाको अन्य स्थानमा सुन्तला उत्पादन राम्रो भए पनि उमाचोक पकेट सुन्तला उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कूलप्रसाद तिवारीले बताए । रासस