ललितपुर। सरकारले धानको समर्थन मूल्य प्रतिक्विण्टल २२६ रुपैयाँसम्म बढाएर तोकेको छ । मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार आर्थिक वर्ष २०७९/८० का लागि सरकारले धानको मूल्य तोकेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलकाअनुसार सरकारले मोटा धान प्रतिक्विण्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विण्टल ३ हजार १२८ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोकेको हो ।

गत आर्थिक बर्ष २०७८/७९ मा सरकारले मोटा धान प्रतिक्विण्टल २ हजार ७५२ रुपैयाँ न्यूनतम् समर्थन मूल्य तोकेकोमा यस बर्ष २१५ रुपैयाँले बढाएको छ भने मध्यम धान गत बर्ष प्रतिक्वण्टल २ हजार ९६७ रुपैयाँ रहेकोमा २२६ रुपैयाँ बढाएको हो ।

न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट धान खरिद हुने व्यवस्था छ । यसैगरी न्यूनतम् समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रतिक्विण्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ ।

गतवर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मे.टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मे.टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन रहेको समेत मन्त्रालयले जनाएको छ ।