म्याग्दी। देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैं, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ ।

खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर पाइन छाडेका मङ्गला गाउँपालिका–२ सिमका दीपक केसीले बताए । “काम गर्नसक्ने उमेरका मानिस विदेशमा छन्”, भैँसी फार्म सञ्चालन गरेका केसीले भने, “तराई, मधेसका जिल्लाबाट मजदुर बोलाएको छु ।”

पशुलाई चरनका लागि लेक र बेंसी गराउने चलन अघिल्लो पुस्ताका वृद्ध थला परेपछि हराउँदै गएको छ । वृद्ध उमेरका कृषकले भेडा, बाख्रा, गाई र भैँसीका गोठ धानेका छन् । गोठाला नपाएपछि घोडा, गाई र भेडा पाल्न छोडेको धवलागिरि गाउँपालिका–३ फलियागाउँका चकबहादुर मल्लले बताए ।

तीस हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल एक तिहाइभन्दा कम १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती हुन्छ । जनशक्ति पाइन छाडेपछि अर्म, पर्म, हुड्डा लगाएर खेतीबाली लगाउने, गोडमेल र भित्र्याउने चलन हराएको बेनी नगरपालिका–२ बाङ्गेराका कृषक वीरेन्द्र किसानले बताए । “ट्र्याक्टर, थ्रेसर आदि उपकरणको विकासले सहज भए पनि लागत उठाउनै मुस्किल छ”, उनले भने, “अर्मपर्म गर्ने चलन हराएपछि घरकै सदस्यले फुर्सद निकालेर खेती लगाउने र भित्र्याउने गर्न थालेका छौँ ।”

गाउँमा वृद्धवृद्धा, महिला, बालबालिका मात्रै भेटिन्छन् । रोजगारीको खोजीमा युवा जनशक्ति बाध्यताले विदेशिने अवसर र सुविधाको खोजीमा सहरतर्फ केन्द्रित हुने तथा सुविधाभोगी जीवनशैलीका कारण खेतीयोग्य जमिन बाँझिएर झाडी र जङ्गलमा परिणत हुन थालेका छन् ।

बस्तीदेखि टाढाका जमिनमा खेती गर्न छाडेकाले झाडी र जङ्गलमा परिणत भएका बेनी नगरपालिका–२ का पदमपाणि शर्माले बताए । “ट्र्याक्टरले जोत्न, थ्रेसरले गेडा झार्न, खेतकै छेउमा ट्र्याक्टरबाट मल, नल, पराल, धान र गहुँ ओसार्न सजिलो त भएको छ”, उनले भने, “टाढाको बाली लगाउन महँगो पर्ने भएपछि कतिपयले बाँझै छोडेका छन् ।” पछिल्लो जनगणनाअनुसार म्याग्दीको जनसङ्ख्या १० वर्षको अवधिमा छ हजारले घटेर एक लाख सात हजार भएको छ । २५ देखि ३० हजार जनसङ्ख्या विदेशमा छन् ।

खेती कार्यमा देखिएको जनशक्ति अभावको समस्या समाधानका लागि यन्त्र उपकरणको प्रयोगमा जोड दिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । कम श्रम र लागतमा गर्न सकिने फलफूल तथा नगदे बालीको खेती गरेर बाँझो जमिनलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । बाँझो जमिनमा खेती गर्नेलाई अनुदानकोसमेत व्यवस्था मिलाएको सिग्देलले बताए । रासस