दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नुपरेको छैन ।

केही खर्च गर्नुपरे पनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन् । भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रू. १ लाखमा पाँच गाई खरीद गरेर व्यावसायिक रूपमै गाईपालनमा लागेकी उनी अहिले लाखौंको कारोबार गर्छिन् ।

‘श्रीमान् ट्रक चलाउनुहुन्छ, सानोतिनो केही खर्च गर्न श्रीमानकै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ’, उनले भनिन्, ‘अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु ।’

पाँच ओटा गाईबाट व्यवसाय शुरू गरेकी उनले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै गइन् । घर छेउमै वार्षिक १ लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गरिन् । अहिले उनको फार्ममा २५ ओटा गाई छन् ।

उनले दैनिक ७० देखि ८० लिटर दूध विक्री गर्ने बताइन् । दूध विक्री गर्न अत्तिरिया बजारसम्म आफैं स्कुटर चलाएर जाने गर्छु’, उनले भनिन्, ‘स्थानीय बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित संकलन केन्द्रमा पुर्‍याउँछु ।’

१ लाख रुपैयाँबाट शुरू गरेको व्यवसायमा अहिले उनले मासिक लाखभन्दा बढीको कारोबार गर्ने गरेको बताइन् । ‘घरमा बिनाकाम बस्नुभन्दा त केही गरौं भन्ने आँट गरेर व्यवसाय शुरू गरेकी हुँ, अहिले श्रीमान्ले पनि सघाउनुहुन्छ’, उनले भनिन्, ‘मासिक १५ हजार तलब खाने दुई कामदार पनि छन् ।’

उनले फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुने गरेको गुनासो गरिन् । ‘गाई थप गर्ने योजना थियो, एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ’, उनले भनिन्, ‘आँट गरेर केही काम गरे सफल भइने रहेछ ।’ अहिले उनले गाई मात्र नभएर बाख्रापालनसमेत गरेकी छन् ।

बाख्रापालनमा समेत राम्रो सम्भावना देखेकी उनले आधुनिक खोर बनाएर बाख्रापालन गर्ने योजना बनाएकी छन् । ‘अहिले २० ओटा छन्, पछि बाख्रा थप्ने योजना बनाएकी छु’, उनले भनिन्, ‘हामीले जति मेहनत गरे पनि मूल्यांकन हुँदैन ।’

उनले गाउँमा दुईरचार गाई पाल्नेले सरकारबाट लाखौंको अनुदान लिने गरेको तर व्यावसायिक रूपमा लाग्नेहरूलाई कतैबाट सहयोग नभएको गुनासो गरिन् । ‘कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुनें अहिलेसम्म कतैबाट सहयोग भएन’, उनले गुनासो गरिन्, ‘हामी काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन ।’ रासस/फाइल फोटो