गलेश्वर। पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको बताए ।

म्याग्दीको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धौलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने तथा बोट हरियोमै सुक्दै जाने समस्या देखिएको छ ।

रैथाने धानको बिउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका स्थानमा भन्दा आयातित विकासे बिउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए। धानबाली भित्र्याउने अन्तिम समयमा देखापरेको रोगका कारण यसवर्षको धान उत्पादन घट्न सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ ।

रत्नेचौर, बगरफाँट, फापरखेत, सीमलगायतका बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा पनि गवारो, राते र खैरे थोप्ले रोगको प्रकोप देखा परेको म्याग्दीका कृषक चन्द्रबहादुर कार्कीले बताए । गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीमा गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिक टन धान उत्पादन भएको थियो । रासस