धनकुटा। जिल्लाको सयपत्री (थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।

यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा रु. ५० लाखभन्दा बढीको सयपत्री फुूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल नफुल्दा किसानहरु मारमा परेका वडा अध्यक्ष विकास घिमिरेले जानकारी दिए । किसानहरुको फूल खेतिमा लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको व्यवस्था गरेर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार गाउँमा फूल राम्रो उत्पादन भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुनः किसान पारम्परिक खेतीमा फर्किएका थिए । किसानले गाउँभरी लगाएका फूल समसमै नफूल्दा समस्यामा परेको लाँकुरे गाउँका २५ वर्षीया नवीन मल्लले जानकारी दिए ।

गतवर्ष पाँच रोपनीमा फूल लगाएर रु एक लाख ५० हजारमा बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएको फूल भरखर मात्र फूल्न थालेका छन् । मल्लको जस्तै उक्त गाउँमा ५० भन्दा बढी किसानले लगाएको सयपत्री फूल नफूलेपछि तिहारमा फूल अभाव हुने देखिएको उनले जानकारी दिए ।
“जम्मा तिहारमा लक्ष्मी पूजाको एक दिन फूल व्यापार हुन्छ । यो फूल तिहारमा बेच्नेगरी नफुल्ने भो । अब सबै उखालेर फ्याँक्नुपर्ला”, मल्लले भने ।

मल्लको जस्तै सिलिङ्ग्वा टोलका ५३ वर्षीया राजकुमार राईले चार रोपनीमध्ये दुई रोपनीमा लगाएको सयपत्री फुलेको छैन । अगाडि लगाएको फूल अधिक वर्षाको कारण बिग्रिएको र पछि रोपेको फूल फूलेको छैन । “अब काटेर बाख्रालाई घाँस खुवाउने”, राईले भने ।

त्यस्तै १ रोपनीमा फूल रोपेका स्याउलेका राधादेवी घिमिरेले गाउँमा किसानले लगाएको फूल कसैको पनि नफूलेको जानकारी दिईन् । छोरालाई भनेर फूल फूलाउने औषधि लगाए पनि तिहारमा फूल्ने छाँटनभएको उनले बताईन् । “दसैंमा फूलेको भए तिहारसम्म पुग्थ्यो होला १ तर यो पाली तिहार छिटो आएर पनि फूल नफूल्ने भयो”, उनले भनिन् ।

जिल्लामा हाल सयपत्री फूलको व्यवसायीक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफूलेको हुनसक्ने कार्यालय प्रमुख नगेन्द्रबहादुर राणाले जानकारी दिए । रासस