दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुगेका उनले तीन महिना भाषासमेत सिके । विदेश जान १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उनी गाउँ फर्किए । हाल उनी निरन्तर कृषि कर्ममा लागिरहेका छन् ।

सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ गरेका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लागेका छन् । उनले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गरेका छन् । उनको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पालेका छन्। त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गरेका उनले बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गरेका छन् । भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उनले बताए ।

सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उनी केही समय विदेशको चक्करमा लागे । कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ, उनले भने, बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।

खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताए । सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागेँ, उनले भने, सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ । दोधारा चाँदनीको सुन्दरनगरमा उनले एक बिघा जग्गा वार्षिक ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहेका छन् ।

दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयोु, उनले भने, तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ । कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लागेका छन् । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उनले बताए ।

कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन, उनले भने, सहकारीबाट २० हजार ऋण लिएर मैले सुरुआत गरेको हुँ । कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताए।

कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उनको बुझाइ छ । बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ । उनले भने, नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।

खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउँछन् । कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उनले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गरे । पाँच वर्षमा करिब १० लाख आम्दानी गरेको छु, कृषिबाट राम्रो आम्दानी हुन्छ, उनले भने, स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।

कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताए । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उनको भनाइ छ । एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु, उनले भने, स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ । खड्काले दुई जनालाई रोजगारीसमेत दिएका छन् । नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उनले बताए । यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ, उनले भने, उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु ।

कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताउनुभयो । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उनको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ । रासस/फाइल फोटो