काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब १०० बिरुवा रोपिएको हो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो कोरोना सङ्क्रमण हुन नदिन उपयोगी मानिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्दिरका संरक्षक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले मानिसलाई निरोगी बनाउने गुण हाम्रो वरपर रहेका जडीबुटीमा भए पनि त्यसलाई बिर्सँदै गएका बेला गुर्जो रोपण अभियानले पुनर्जागरण गरेको बताए ।

योग शिक्षक अच्युत अर्यालले समुन्द्र मन्थन हुँदा निस्किएको अमृत देवता र राक्षसबीच खोसाखोस हुँदा गुर्जोमा परेकाले यसलाई संस्कृतमा वनस्पति भनिएको उल्लेख गर्दै त्यसैकारण यसले रोग प्रतिरोधी क्षमता बढाउनसक्ने बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडाले गत वर्षसम्म यस क्षेत्रको जङ्गलमा गुर्जो भए पनि विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि उजाडिएको बताए। उनले गुर्जो उजाडिएको क्षेत्रमा अभिायनकर्मी राजलवटको सहयोगमा पनि फेरि फस्टाउने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे। कार्यक्रममा अभियानकर्मी राजलवटले मानव शरीरबाट विभिन्न किसिमका टक्सिन निकाल्न गुर्जोबाट बनेको धुलो र चिया उपयोगी हुने बताए।

आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आएका छन् । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उनले गत वर्ष देशभर निःशुल्क बाँडेका थिए ।

गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउँछन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाएका छन्।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ मा एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गरेका उनले यस वर्ष पनि करिब ११ हजार बिरुवा निःशुल्क बाँडेका छन् । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउँछन् । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व :
घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई हयग्रीव भनिन्छ। हयग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो। हयग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गरेका थिए । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।

ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले हयग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गरेको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । हयग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गरेको सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी हयग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीशले जानकारी दिए ।

भगवान् विष्णुले हयग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । हयग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकुन् भनी वर मागेकाले भगवान् विष्णुले हयग्रीव रूप धारण गरेका हुन् । भगवान् हयग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले हयग्रीव अवतार लिएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउँछन् ।

स्कन्द पुराण अन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । ‘कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो’, उनले भने ।

कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश बताउँछन् । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ।

यहाँ ब्रह्माले वामनरूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ। नेपाल माहात्म्यको ३२ औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ। त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ। सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो।

नेपाल माहात्म्यको ३२ औँ अध्यायको २८, २९ र ३० औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् हयग्रीव बस्छन् भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी हयग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्य युगमा भगवान् विष्णुसमेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।

जाल्पादेवीमा १०० बोट गुर्जो रोपण :
यसैगरी शनिबार नै टोखा नगरपालिका–३ स्थित जाल्पादेवी मन्दिर क्षेत्रमा पनि गुर्जोका १०० बिरुवा रोपिएको छ । रोपिएका सबै बिरुवालाई संरक्षण गर्ने प्रतिबद्धता मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले व्यक्त गरेका छन् । गुर्जो रोपणमा स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो। धार्मिक क्षेत्रमा गुर्जो रोपणलाई प्राथमिकता दिने अभियानकर्मी राजलवट बताउँछन् ।रासस