मकवानपुर। बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौडा उपमहानगर पालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले आज शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, ग्रेडिङ्, प्रशोधन गरी प्याकिङ्सहित शीतभण्डारको व्यवस्थालाइ व्यवस्थित गर्न सरकारले यस्तो योजना निर्माण थालनी गरेको बताए । मन्त्रालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा परम्परागत कृषि प्रणालीलाइ रुपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउन थोक बजारको निर्माण गर्न लागेको जानकारी दिइएको छ ।

यसले बजारीकरण गर्न व्यवस्थित एवम सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गरी देशको कृषि तथा तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सो योजनाको लागत २८ करोड ३६ लाख ५६ हजार रहेको छ । साथै २०८१ जेष्ठसम्म निर्माण सक्ने लक्ष्य छ ।