कैलाली। कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई ३७० ओटा पाठापाठी वितरण गरेको हो ।

बंगुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बंगुरका पाठापाठी वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बंगुरपालक किसानको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।

‘व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो’, अध्यक्ष चौधरीले भने, ‘बंगुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरे । ‘हामीले दिएका बंगुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन’, उनले भने, ‘हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।’

पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहलाई बंगुरका पाठापाठी वितरण गरिएको बताए । ‘हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौँ’, उनले भने, ‘पठापाठी वितरण गर्न रू. २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।’ रासस