ललितपुर। मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मनसुनी वायु र दक्षिणी भू भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण शनिवार देशका अधिकांश भुभागमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार शनिवार बिहान देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भने भीषण वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेश एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । भरी वर्षाका कारण पहाडी भेगमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।